रुकुम पश्चिममा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, चारजना घाइते


रुकुम । रुकुम पश्चिममा नेकपा (दाहाल–नेपाल) समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षसहित चारजना घाइते भएका छन् । जिल्लाको आठविसकोट नगरपालिका–९ राडीमा भएको झडपमा सोही ठाउँका वडाध्यक्ष तारकबहादुर शाही, कांग्रेस कार्यकर्ता तेजबिक्रम आरसी, दिपक केसी र प्रकाश शाही घाइते भएका छन् ।

नेकपा ९दाहाल–नेपाल समूह०का कार्यकर्ता एवं नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष केशरमान विक उनका भाई गोपाल विक र वडानम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराको नेतृत्वमा रहेका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई आग्रमण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए ।

केही दिनअघि नेकपाका कार्यकर्तालाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषयमा विवाद हुँदा सोमबार राति दुई पक्षबीच विवाद सिर्जना भएको थियो । उक्त विवाद समाधानका लागि मंगलबार आज बिहान इलाका प्रहरी कार्यालय राडीमा छलफल भइरहँदा वडाध्यक्ष शाहीलगायतका कांग्रेस कार्यकर्ता माथि आक्रमण गरेको प्रहरीको भनाइ छ । स्थिति उग्र बन्दै गएपछि प्रहरीले हवाई फाएर समेत गरेको छ ।

दुई पक्षबीच सहमतिका लागि छलफल भइरहेको अवस्थामा वडाध्यक्ष शाहीमाथि एक्कासी हातपात गरेपछि स्थिती उग्र बनेको हो । अहिले दिउँसो १ बजेसम्म पनि दुवै पक्षले ढुंगामुडा गरिरहेका छन् । झडप नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
झडप उग्र बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप टोली पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरीले ३ नम्बर वडाध्यक्ष केशरमानव विक, उनका भाई गोपाल विक र ८ नम्बर मानबहादुर चनारालाई नियन्त्रणमा लिएको छ ।

गत कात्तिकमा नेपाली कांग्रेसले जिल्ला समन्वय समितिका सदस्य अमृत बोहरालगायका दुई सय नेकपाका कार्यकर्तालाई प्रवेश गराएको थियो । त्यसपछि कांग्रेसले ३ नम्बर वडामा पार्टीको कार्यक्रम गर्दा वडाध्यक्ष केशरमानकै नेतृत्वमा कांग्रेसलाई कार्यक्रम गर्न नदिने भन्दै नेकपाका कार्यकर्तालाई नाराबाजी गरेका थिए ।
वडाध्यक्ष केशरमान र मानबहादुर यसअघि पनि पटक पटक विवादमा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?