हाम्रो कुरा निर्वाचन आयोगले सुन्योः ईश्वर पोखरेल


काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पोखरेलले निर्वाचन आयोगको निर्णय स्वागतयोग्य भएको बताएका हुन्। उनले आयोगको निर्णयले पार्टी एकताको पक्षमा रहेको बताए।

‘आयोगको निर्णयलाई सम्मान र सकारात्मक ढंगले लिएका छौं। हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ पोखरेलले भने, ‘ओलीले राखेको अडानलाई आयोगको निर्णयले बल पुग्ने देखेका छौं। हामी फुटको पक्षमा छैनौं। नेकपा फुटेको छैन र चाहेर पनि फुट्दैन।’ आयोगको निर्णयले ओलीलाई कारबाही गर्ने निर्णयलाई गिज्याएको समेत उनले बताए।

१५ सय केन्द्रीय सदस्य बनाएको काम लागेन नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘ती राजनीतिक कुरा हुन्। आवश्यक भए पछि पेश गरिनेछ।’ ओली समूहका नेता पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बताए। प्रचण्डले लगाएको अभियोग पत्र फिर्ता लिने र चुनावमा भाग लिए पार्टी एकता रहने समेत उनले बताए।

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ। कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ। र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ। त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?