क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे ५१ लाख रुपैयाँ


काठमाडाैं । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन अभियान घोषणा गरेको दुई हप्तामै ५१ लाख ५० हजार ४९० रुपैयाँ सकंलन भएको सामाजिक अभियन्ता केवलप्रसाद (केपी) ओलीले जानकारी दिनुभयो ।

मुटुको माथिल्लो भागमा क्यान्सर भएपछि २५ वर्षीय खनालको जापानमै उपचार भईरहेको छ। पिडित खनालको आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै जीवन रक्षाका लागि उनका परिवारले सहयोगका लागि अपील गरेका थिए ।

खनालको उपचारका लागि सहयोग संकलन अभियान घोषणा गरेको छोटो समयमै अप्रत्यासित रुपमा रकम जम्मा भएपछि सहयोग अभियान स्थगित गरिएको ओलीले जानकारी दिनुभयो । तर, केही संघ संस्था र ग्रुपबाट सहयोग आउने जानकारी आएको भन्दै ओलीले रकम बढ्न सक्ने बताउनुभयो ।

वलीले केशव खनालको उपचारका लागि सहयोग गर्ने एनआरएनए क्युस्यु, सिमला केसी र ओसाकाका सरोज जिसीलगायत सबै सहयोगलाई धन्यवाद दिनुभयो ।

यति चाँडै सहयोग उठाउन सक्ने अपेक्षा नलिइए पनि सोचेभन्दा ठूलो सफलता मिलेकोमा खुसी व्यक्त गर्दै ओलीले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

कैलालीका खनाल १५ अक्टोबर २०१९ मा जापानको कोची केनको International collage of design and business मा विद्यार्थी भिसामा पुगेका थिए ।

जापानकै कोची रेडक्रस अस्पतालमा उपचाररत खनालको उपचारका लागि वार्षिक २० लाखदेखि ३० लाख जति लाग्ने चिकित्सकहरुले बताइएका थिए ।

सहयोग गर्न इच्छुक महानुभावहरुलाई बिरामी केशव खनालको JP Bank को खाता नम्बर (16470 – 15608421) मा पठाउन भनिएको थियो । अभियन्ता ओलीले सहयोग गर्नुको साथै आफ्नो सामाजिक संजालमार्फत अपिल गर्दै आइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?