बझाङ : विद्यार्थीमा रुघाखाेकी लाग्ने, ज्वराे आउने लक्षण देखिएपछि विद्यालय बन्द


बझाङ । साइपाल गाँउपालिका ४ मा पर्ने धुली निम्न माध्यमिक विद्यालय आउँदाे आइतवारसम्मका लागि बन्द गरिएको छ । विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी सुख्खा हुने जस्ता लक्षण देखा पर्न थालेपछि विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको साइपाल गाँउपालिका ४ की अम्रिता विकले बताउनुभयो ।

एकैदिन १५–२० जना विद्यार्थी बिरामी पर्न थालेको र त्यो लक्षण समुदायका अन्य व्यक्तिमा पनि देखिन थालेकाले विद्यालय व्यवस्थापन समितिको बैठकले गएको मङ्गलबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यार्थी र शिक्षक दुवैमा यस्तो लक्षण देखापरेको बताइएको छ । वडा नम्बर ४ को लाफडीका स्थानीयमा यो समस्या बढी देखा परेको र अहिले अन्य समुदायमा पनि देखिन थालेको जानकारी प्राप्त भएको छ । यस्तो लक्षण देखिएको चारदेखि पाँच दिनपछि भने निको हुने गरेको छ ।

वडा नम्बर ४ मा यस्तो समस्या भएको जानकारी पाएपछि साइपाल गाँउपालिकाले स्वास्थ्यकर्मीसहितको त्यहाँ पठाइएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनुभयो । केही दिनअघि साइपाल गाँउपालिका १ र २ मा पनि यो समस्या देखिएको र अहिले निको भइसकेको उहाँको भनाइ छ । मौसम परिवर्तन हुन थालेका कारण मौसमी रुघाखोकीको आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?