छाउनी स‌ंग्रहालय : जहाँ भेटिन्छ लाखौं वर्ष पुरानो मानव जीवनशैली

‘संग्रहालय किन जाने ?’

धेरै युवापुस्ताहरूले सोध्ने एउटा साझा प्रश्न हो यो ।

एउटै भवनभित्र लाखौं वर्ष पुराना संस्कृतिलाई संग्रहित गर्ने संग्रहालय आम जनताको लागि खुला गरिएको ८२ वर्ष पूरा भएको छ । तर पनि यसमा धेरैको आकर्षण हुन नसक्नु पछिको कारण के होला ? यो प्रश्नमा यस क्षेत्रका विषय विज्ञहरूको एउटै जवाफ हुन्छ, ‘यो निरस विषय हो, त्यसैले धेरैलाई चासो नभएको होला ।’

फेरि अर्काे प्रश्न आउन सक्छ, ‘निरस विषय हो भने यो जान्नु आवश्यक किन छ त ?’

कुनै पनि मुलुकको समृद्धि वर्तमानमा भएको विकासलाई हेरेर मात्रै मान्ने गरिँदैन । यदि अहिलेको विकासलाई मात्रै समृद्धि मान्ने हो भने समृद्ध मुलुकमा सायदै ऐतिहासिक संग्रहालयहरूलाई व्यवस्थित गरेर राख्ने गरिँदैन’थ्यो होला । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला विदेशमा जानेवित्तिकै विदेशीले संग्रहालयको भ्रमण गराउनुले संग्रहालय एउटा अनिवार्य ज्ञानको केन्द्र हो भन्ने पुष्टि भइसकेको बताउँछन् ।

पक्कै पनि संग्रहालय सिनेमा हल जस्तो मनमा प्रणयको विजारोपण गर्ने केन्द्र त होइन । तर आफ्ना पुर्खाहरूको विगतलाई सम्झिएर आफ्नो विगतलाई मनन गर्नको लागि अनिवार्य गन्तव्य भने पक्कै हो, संग्रहालय ।

यही संग्रहालयहरू मध्ये नेपालको सबैभन्दा जेठो हो छाउनी संग्रहालय । तत्कालीन प्रधानमन्त्री जुद्द शमशेरको पालामा संग्रहालयको अवधारणामा ढालेर आम मानिसको लागि खुला गरेको पहिलो र समकालीन संग्रहालयसँगै अहिले थप तीनवटा संग्रहालय थपिएका छन् ।

संग्रहालयका प्रमुख जयराम श्रेष्ठ त्यतिबेलाको जुद्द शमशेरले जारी गरेको घोषणापत्र आफैँमा रोचक खालको रहेको बताउँछन् । १९९५ फागुन १ गते संग्रहालय स्थापना भएसँगै १९९६ सालमा सर्वसाधारणको लागि खुला गरिएको थियो । त्यतिबेला प्रवेशका लागि १४ वर्षमुनिका बच्चाको लागि ४ पैसा र अरूलाई ८ पैसा तोकिएको थियो ।

‘लौ सबैले हेर्न आओ । नेपाली कला संस्कृतिहरु म्युजियममा हेर्न पाइन्छ, शनिबार पनि खुल्छ’ भनेर त्यसको प्रचारात्मक घोषणापत्र वि.सं. २००० सालमा प्रकाशित गरेका थिए ।

छाउनीको सैनिक संग्रहालयको सम्मुखमा सेतो रंग पोतिएको प्रवेशद्वार आफैँमा कलात्मक छ । बाहिरी कलालाई नियाल्ने हो भने राणाकालीन शैलीमा धेरै बनेका नवशास्त्रीय वास्तुकलाको शैलीसँग मिल्दोजुल्दो शैली आफैँले संग्रहालयलाई एउटा ऐतिहासिक घटनाको साक्षीको रुपमा चिनाउने गर्छ । तर त्यहाँ रहेको मूल दरबारबाहेकका धेरै संरचना पछिल्लो समयमा बनेका संरचनाहरु हुन् ।

द्वारको माथिल्लो भागमा एउटा कलशसहितको तीन वटा बुर्जाको आकृति राखिएको छ । बायाँतर्फ रहेको लकरमा झोला बुझाइसकेपछि एउटा पूर्खाहरुले सिर्जका कला र संस्कृतिको एकीकृत भण्डारणमा मान्छेको प्रवेश हुन्छ । जहाँ ढुंगेयुगीन हतियारदेखि वर्तमान कलासंस्कृतिसम्मको उदाहरण पाउन सकिन्छ ।

प्राग् मानिसहरू गुफामा बस्थे । आगोको उत्पत्ति भइसकेको थियो । मान्छेले वन्यजन्तुको आक्रमणबाट बच्नको लागि ढुंगे हतियारको आविस्कार गरेका थिए । यस्तो विषयलाई किताबमा धेरैले पढेका हुन्छन् । तर ढुंंगेयुगका मान्छेले आविस्कार गरेको हतियार कस्तो होला ? त्यो हेर्नको लागि म्युजियमको ढोका ढक्ढक्याउनै पर्छ । यसरी मानव सभ्यतामा ढुंगेयुगदेखिका संस्कृतिलाई सचित्र मस्तिस्कमा उतार्नुछ भने राष्ट्रिय संग्रहालयको मुख्य ऐतिहासिक भवनको पहिलो तलासम्म धाउनै पर्छ ।

मूलद्वारबाट १०० मिटरजतिको दुरीमा हिँडेपछि एउटा कलात्मक गरुडको मूर्तिले सबै आगन्तुकलाई स्वागत गर्ने गर्छ । चारैतिरबाट पानीको फोहोराले सेचन गरिरहेको गरुडको मूर्तिसँगै उभिँदा तीनतर्फ फरकफरक संग्रहालय पाउन सकिन्छ ।  झण्डै १५०० वर्षभन्दा पुराना अभिलेखयुक्त ठूलाठूला मूर्तिहरुदेखि चित्रकलाको अनुपम संस्कृतिको अवलोकनको लागि बायाँतर्फको जुद्द कलाशाला रहेको छ ।

साँचीको बौद्ध स्तुपको मूल प्रवेशद्वारको शैलीसँग हुबहु मिल्ने प्रवेशद्वारबाट छिरेपछि दुईवटा प्रस्तरबाट बनेका द्वारपालहरुले स्वागत गरिरहेका हुन्छन् । ग्रिलको ढोकाबाट भित्र छिरिसकेपछि एउटा ठूलो हलमा लिच्छविकालदेखि मध्यकाल र शाहकालसम्मका पनि मूर्तिहरुको संग्रह देख्न सकिन्छ । यही भीडमा सबैभन्दा अग्लो कुनै मूर्ति छ भने त्यो हो संवत् १०७ अभिलेख अंकित जयवर्माको । यसबाहेक यो भवनमा मानदेवले लाजिम्पाटमा राखेको विष्णुविक्रान्तको मूर्ति, लिच्छविकाल र मध्यकालका विभिन्न कलात्मक मूर्तिहरु समेत यही हलमा पाउन सकिन्छ । जुद्द कलाशालामा प्रस्तरबाहेक काष्ठकला, माटोको कला, काँसको कलाहरू एवं विभिन्न चित्रकलाहरूको संग्रह पाइन्छ ।

त्यहाँबाट बाहिर निस्किएपछि छेउमा रातो भित्ता, झिँगटीको छानायुक्त एउटा दुईतले भवन रहेको छ । सन् १९९३ मा जापान सरकारको सहयोगमा बनेको यो भवन तत्कालीन राजकुमारले उद्घाटन गरेर बौद्ध कला संग्रहालयको रुपमा विभिन्न बौद्ध धर्मसँग सम्बन्धित कला संस्कृतिहरूको प्रदर्शनी उक्त भवनमा गरिएको पाइन्छ । त्यसभित्र पनि छुट्टाछुट्टै शाखाले क्षेत्रगत रुपमा कलात्मकता देखाउने गरेको छ । तराई सेक्सनमा कपिलवस्तुमा रहेको सिद्धार्थ गौतमको जन्मस्थान तिलौराकोट, निगलीहवा, सगरहवा जस्ता बौद्ध साइटहरुबाट प्राप्त सामग्रीहरूको प्रमाण पाइन्छ भने काठमाडौं भ्याली सेक्सनमा काठमाडौं उपत्यकामा पाइएका कलाहरुको संग्रह पाइन्छ ।

मूलद्वारबाट प्रवेश गर्दा दायाँतर्फ भीमसेन थापाको निवासस्थलमा नेपाली कला र संस्कृति झल्किने अर्काे मूल संग्रहालय रहेको छ । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको निवासस्थानमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले विभिन्न किसिमका हतियारहरू राखेर सिलखानाको स्थापना गरेका थिए । सो हतियारखाना आफैँमा सरकारी व्यक्तित्वलाई मात्रै खुला गरिएको थियो । वि.सं. १८६७ सालमा स्थापना भएको सिलखानाको भवन २०७२ सालपछि पछिल्लो भागमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको थियो । यद्यपि अग्रभाग र पृष्ठभाग भने भीमसेन थापाको समयमा निर्माण गरिएको दरबारकै अंश हो ।

उक्त संग्रहालय कला संस्कृति एवं प्राग् इतिहासलाई समेट्ने विभिन्न सामग्रीहरु संग्रहित छन् । यहीभित्र नेपालको विभिन्न जातिको भेषभुषा र कलालाई चित्रित गरिएको छ भने विश्वको समेत अधिकांश देशको मूलभूत पोशाकहरूलाई समेत यसमा समेटिएको छ ।

संग्रहालयभित्र विभिन्न जनावरहरुको छाला लगायत अन्य अंगलाई संरक्षण गरिएको प्राकृतिक विज्ञान ग्यालरी छ । जसभित्र गैडाको खुट्टा, छाला र बंगारा, हात्तीको खप्पर, विभिन्न चराचुरुङ्गीहरूको सग्लो तथा शरीरको कुनै बहुमूल्य भागको तस्वीर राखिएको पाइन्छ ।

सँगै रहेको मुद्रा संग्रहालय एउटै प्रांगणमा रहेको चार संग्रहालयमध्येको एउटा संग्रहालय हो । त्यहीभित्र इसापूर्व छैठौं शताब्दीको आहतमुद्रादेखि हालसम्मको मुद्राको सम्पूर्ण इतिहास भेट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?