केपी ओली मधेस विराेधी हाे भन्नेहरूलाई सुनकोशी-मरिणले जवाफ दिनेछ – प्रधानमन्त्री


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू काे हाे भन्ने कुरा तराईका जनताले बुझिसकेका बताउनुभएकाे छ ।

सिन्धुलीमा आयोजित सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समाराेहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले  आफूलाई  मधेस विराेधी भन्नेहरूलाई काम गरेर देखाइदिएकाे बताउनुभयाे ।

केही व्यक्तिहरूले केपी ओलीलाई मधेस पस्न नदिने भनेकाे स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘केपी ओलीलाई मधेस पस्न नदिएपनि केही छैन, केपी ओलीले मधेसमा पानी पस्न दिनेछ, सुख्खा खेतलाई चिसा बनाइदिनेछ, खेत भिजाइदिनेछ, मुख्यमन्त्रीमार्फत खबर पुर्‍याउन चाहान्छु, केपी ओलीलाई पस्न नदिएपनि हुन्छ, तर पानी पस्न नराेक्नुहाेला ।’

पहाड र तराईलाई जाेड्न सुनकोशी-मरिण डाइभर्सन काेशेढुंगा भएकाे प्रधानमन्त्रीले बताउनुभयाे । आयाेजना निमार्णका लागि सहज वातावरण बनाएकाेमा उहाँले सिन्धुली र रामेछापबासीलाई धन्यवाद् दिनुभयाे । साे आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने उहाँले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?