कतै हामीहरुले आफ्नो मुटुको टुक्रा समान आफ्ना बालबालिकाहरुलाई रोगी त बनाईरहेका छैनौं ?

  • प्रिती थापा
    शिक्षक
    भिएस निकेतन स्कुल

काठमाडौ । भनिन्छ, मान्छे जन्मेदेखी हरक्षण, हरपल केही न केही कुरा सिकिरहेकै हुन्छ । अँध्यारो रातले अन्धकारसँग लड्न सिकाउँछ त सुनौलो बिहानीले सजग भएर हिँड्न सिकाउँछ ।

यति थाहा हुँदाहँदै पनि हामी अभिभावक र शिक्षक कहाँ चुकेका छौं त ? जसको परिणाम स्वरुप भोलीको विश्व हाँक्ने अभिभारा बोकेका समाज तथा राष्ट्र निर्माणका निर्माता असल शासक, कुशल राजनीतिज्ञ ती अबोध कलिलो बाल मष्तिष्कमा झगडालु स्वभावको विकास हुँदै छ । उनीहरुमा प्रतिशोधको भावना मौलाउंदैंछ । कसले, कहाँबाट र कसरी विजारोपण भयो । यस्तो घातक बिउको आज हाम्रा सामु समस्याको विशाल पर्खाल बनेर हिँडिरहेको छ ।

हामीले प्रत्येक पल उनीहरुसंगै गर्ने व्यवहार अनि साथीहरुसँग गर्ने पारिवारिक जमघटमा बोलिने प्रत्येक शब्दले उनीहरुलाई कति दुखिरहेको हुन्छ, हामीले कहिल्यै बालबालिका बनेर सोचेका छौं ? हामी बारम्बार भन्ने गछौं आजकालका केटाकेटीहरु त हामीले भनेको पटक्कै मान्दैनन्, जे भन्यो मुखमुखै लाग्छन् । कसले बनायो त उनीहरुलाई झगडा गर्न अनि मुख लाग्न बाध्य !

हामी बुझेर पनि किन अबुझ बन्दै छौं कि, बगैंचामा चाहे मखमली फुलोस् वा सयपत्रि गुलाफ होस् वा गोदावरी अर्को फूल फूल्दैमा कुनै फूलको महत्व कम हुन्छ र ? त्यसकारण प्रत्येक बालबालिका असल व्यक्तित्वका खानी हुन् ।

सुन्दर भविष्यको कल्पनामा रमाउंदै स्वतन्त्र आकाशमा निर्धक्क पंक्षि समान पखेटा पिंफजाएर उड्न पाउने उनीहरुको अधिकार हो । तर, किन हामी आफूलाई अनुकूल पर्ने नियम बनाएर त्यसमा बन्धित गर्दै उनीहरुलाई आज्ञाकारी वा अटेरी बच्चाको संज्ञा दिंदै छौं । हामी अभिभावक तथा शिक्षक बालबालिकाबाट सानो मात्र गल्ति भयो भने पनि उसलाई किन गाली गर्ने, उसको मन दुखाउने खालको सजाय दिने गर्छाै ।

उनीहरुको मन नदुखाई गल्तीको महशुस गराउन र भविष्यमा यस्तो गल्ति गर्न नहुने कुरा सिकाउन सक्तैनौं त । हामीहरु सबैलाई थाहा छ हामीले दिने कतिपय यस्ता सजाय वा उनीहरुसँग गर्ने व्यवहारले उनीहरुमा झुठो बोल्ने, झर्कने, छिटो रिसाउने एक्लै बस्न रुचाउने, पारिवारिक जमघटमा सहभागी हुन नचाहने जस्ता बानीहरुको विकास हुँदै जान्छ । कतिपय बालबालिककाहरु त मानसिक रोगको सिकार हुने गरेको पाईन्छ ।

कतै हामीहरुले आफ्नो मुटुको टुक्रा समान आफ्ना बालबालिकाहरुलाई रोगी त बनाईरहेका छैनौं । यो आजको टड्कारो समस्याको रुपमा समाजमा जकडिएको छ । प्रत्येक बालबालिकामा कुनै न कुनै क्षमता रहेको हुन्छ । त्यो क्षमतालाई पहिचान गरी उनीहरुको ईच्छा अनुरुप आफ्नो कर्तव्य पूरा गर्न सक्ने बालबालिकाको उत्पादन गर्नु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?