कांग्रेस संसदीय दलमा देउवा – प्रधानमन्त्रीका विषयमा आजै हतार नगरौं


काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावमा हतारो नगर्ने अभिव्यक्ति दिएका छन् ।

शुक्रवार बसेको दलको बैठकमा सभापति देउवाले सबै पक्षसँग आफ्नो छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतारो गर्न नहुने बताएका हुन् ।

‘संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेबारेमा पर्याप्त छलफल भयो,’ कांग्रेस सांसद संजय गौतमले लोकान्तरसँग भने, ‘तर सभापति देउवाले यो विषयमा आफ्नो सबै पक्षहरूसँग छलफल भइरहेको बताउनु भयो । प्रधानमन्त्री पाइएला भनेर हतार हतारमा निर्णय गर्नुपर्ने कुनै कुरा छैन ।’

देउवाले ओली र प्रचण्ड-नेपाल कसरी अघि बढ्छन् त्यो हेर्नुपर्ने भन्दै संसदीय दलमा आफ्ना कुरा राखेका थिए ।

‘नेकपा फुटोस् भन्न त मिल्दैन,’ देउवाको भनाइ उदृत गर्दै सांसद गौतमले भने, ‘अहिलेसम्म नेकपा एउटै पार्टी भएको अवस्था छ । भोलि सर्वोच्चले के निर्णय गर्छ त्यो हेर्नुपर्छ । निर्वाचन आयोगले के निर्णय गर्छ, यी सबै परिस्थितिको गम्भीर र उचित मूल्यांकन नभइकन हामीले हतारोमा निर्णय गर्नुहुँदैन ।’

संसदीय दलमा अविश्वासको प्रस्तावसम्बन्धी विषयमा कांग्रेस अनिर्णित हुँदा बाहिर राम्रो सन्देश नगएको कुरा उठेको थियो ।

देउवाले सबै परिस्थितिको जायजा नलिई हतारमा निर्णय नगरौं भनेपछि संसदीय दल अनिर्णित बनेको हो ।

बरू दलले कोरोना खोपलाई प्रभावकारी वितरण गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । त्यससँगै कोरोनाका कारण भएको लक-डाउनपछि पर्यटन व्यवसाय पछि धकेलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने अर्को निर्णयसमेत बैठकले गरेको सचेतक पुष्पा भुसालले लोकान्तरलाई जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?