सोरठी जोगाउँदै पर्वतका पाको पुस्ता

पर्वत । कुस्मा नगरपालिका–४ मा बस्दै आएका ६७ वर्षीय छविलाल फकामी मगरको पुरानो घर पर्वतकै जलजला गाउँपालिकाको बनौँमा छ। सानो छँदा गाउँका पाको पुस्ताबाट सिकेको सोरठी गीतको शब्द, लय, बाजा र नृत्य उनलाई अझै कण्ठ छ। त्यसैले त उनी मौका पाएसम्म सोरठी गीत र नृत्य देखाउन आफ्ना साथी र युवा÷युवतीलाई लिएर हिँडिहाल्छन्।

यही क्रममा उनी पर्वत सदरमुकाम कुस्मामा ३९ औँ मगर दिवसको अवसर पारेर भइरहेको दोस्रो राष्ट्रिय मगर महोत्सवमा देखा परे। उनले स्टेजमा पुगेर सोरठीको महिमासहित गीत र नृत्य प्रस्तुत गरे। लोप हुन सक्ने खतरामा रहेको मगर जातिको पुर्ख्यौली र ऐतिहासिक सोरठी जोगाउनकै लागि उनी सम्भव भएसम्म विभिन्न कार्यक्रम वा मेला महोत्सवमा पुगिहाल्छन्। सोरठी जोगाउन र यसको प्रचारका लागि उनी गत शनिवार स्टेजमा देखिए।

पछिल्लो पुस्तामा पश्चिमी संस्कृतिको प्रभाव पर्दै जाँदा नेपालीको संस्कृति नै लोप हुने खतरामा परेपछि आफू बुढेसकालमै भए पनि संस्कृति जोगाउन हिँड्ने गरेको उनको भनाइ छ। ‘म बुढोले भए पनि त नाच्ने र गाउने गरेर सोरठी जोगाउन प¥यो नि। अहिलेका केटाहरू के के हुन् के के गीतमा नाच्ने र गाउने गर्छन्। आफ्नो संस्कारको चिन्ता उनीहरूमा छैन,’ छविलालले भने, ‘सोरठी मगरको सम्पत्ति हो। धनको सम्पत्ति हराउँदा गरिब भइन्छ, कलाको संस्कृति हराउँदा सभ्यता नै हराउँछ।’ युवाहरू वैदेशिक रोजगारीमा जानु, विभिन्न सुविधाको खोजीमा सहरमा बसाइँसराइ गर्नुलगायतका कारण सोरठीसहित थाली नाच र नेपालका अन्य संस्कृति जोखिममा परेको उनको बुझाइ छ।

महोत्सवकै भीडमा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी घर भएका ४३ वर्षीय मीनबहादुर शेर्पुन्जा पनि भेटिए। उनले म्याग्दीबाट करिब २५ जनाको टोली ल्याएर सोरठी देखाउनकै लागि पर्वत आइपुगेका थिए। सोरठी लोप हुँदै जान लागेको बेलामा ठाउँ पाउन साथ मगर संस्कृति देखाउनुपर्छ भनेर नै आफू एउटा नृत्य प्रस्तुतिका लागि लामो यात्रा तय गरेर पर्वत आएको उनले बताए। ‘अहिलेका मान्छेले सोरठी नाच्न र गाउनै जान्दैनन्। यो त हराउँछ कि जस्तो लाग्यो मलाई त,’ मीनबहादुरले भने, ‘हामी सात दिन सात रातसम्म लगातार गाउने र नाच्ने गरेका हौँ। अहिलेकालाई सोरठीको २२ त के तीन ताल पनि थाहा छैन। हामीले दुःख गरे उनीहरूले सिक्लान् भन्ने लागेरै यहाँ आइपुगेको हुँ।’

पछिल्लो समयमा झ्याउरे गीतहरूको राम्रो प्रवर्द्धन भएका कारण पनि सोरठी खतरामा परेको उनको ठम्याई छ। अहिलेका युवा युवतीलाई सोरठी सिकाउने धेरै प्रयास गर्दा थोरैले मात्र यसमा चासो राख्ने भएका कारण कला नै हराउने पो हो कि? भन्ने चिन्तामा मीनबहादुर छन्।

मगर बस्तीमा क्लबको आयोजनामा हुने साना मेला वा उत्सवदेखि जिल्लाव्यापी रूपमा हुने महोत्सवमा पनि आफूहरूले सोरठीलाई विशेष महत्त्व दिएको मगर महोत्सवको आयोजक संस्था पुन युवा क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक कृष्ण पुन बताउँछन्। मगरका सबै खाले उत्सवहरूमा सोरठी प्रदर्शन गर्ने गरिएको तर त्यो कला सीमित युवा र पाको पुस्ताले मात्रै देखाउने गरेकोमा उनलाई पनि पिर लागेको छ।

पुन भन्छन्, ‘सानादेखि ठूला कार्यक्रम हुँदा पनि हामीले सोरठी देखाएकै हुन्छौँ। यो हाम्रो पुर्ख्यौली सम्पत्ति हो। हराउन दिन हुँदैन भनेर हामी लागेका छौँ। युवा पुस्तालाई जसरी हुन्छ सिकाउनै पर्छ।’ यही कारण नै यसपालीको महोत्सवमा खुला सोरठी नृत्य प्रतियोगिता नै राखिएको पुन बताउँछन्।

सोरठीमा नाच्ने र गाउने मगर समुदायका पाका पुस्ताका अनुसार यसमा २२ तालसम्म गाउने गरिन्छ। गाउन सुरु गरेपछि कोही कोहीमा सरस्वती उत्रिएपछि त्यो मान्छे काप्न थाल्छ। उसलाई निको पार्न सुरुमा तीन ताल, सात ताल गर्दै २२ औँ तालसम्म पुगिन्छ। २२ औँ तालमा पुग्ने बेलासम्म काँपिरहेको मान्छेलाई सबै निको हुन्छ। २२ ताल गाउने बेलासम्म उसका लागि गरिने वाचाहरू पूरा हुन्छन्। यसबारे ज्ञान नभएको मान्छेले बाजा बजाएमा ताल पूरा हुँदैन। जसका कारण काँपिरहेको मान्छेलाई चक्कर लाग्ने र मृत्युसम्मको जोखिम हुने जानकारीहरु बताउँछन्। मौलिक सोरठीको लय नै विशेष खालको हुन्छ जुन अन्य गीत सुनिरहेका व्यक्तिलाई अचम्म लाग्छ। त्यसमा पनि छोरा मान्छेले महिलाको श्रृङ्गार गरी महिलाकै भेषमा नाच्नु सोरठीको अर्को रोचक पाटो हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?