रोल्पा : सडक सुधारको माग गर्दै स्थानीयद्वारा सहिदमार्ग अवरुद्ध

रोल्पा । सिमेन्ट उद्योगको टिप्परले सडक बिग्रिएको भन्दै स्थानीयले सडक सुधारको माग गर्दै सहिदमार्गको घोराही–होलेरी खण्ड अवरुद्ध पारेका छन् ।

सडक सुधारको माग गर्दै सङ्घर्ष समिति नै बनाएर केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयले आज सडक ठप्प पारेका हुन् । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ नयाँ गाउँबाट दाङमा रहेको सिमेन्ट उद्योगका लागि सहिदमार्ग हुँदै दैनिक सयौँ टिप्परहरूले चुनढुङ्गा ढुवानी गर्ने गर्दछन् ।

टिप्पर गुड्नका लागि वैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यसअघिदेखि नै गर्दै आएको भए पनि सुनुवाइ नहुँदा आन्दोलन गर्नुपरेको सहिदमार्ग सडक सुधार सङ्घर्ष समितिका संयोजक नन्दराम खड्काले बताउनुभयो । अन्य गाडीका लागि एक दिन बन्द गरिएको भए पनि टिप्परको हकमा भने अर्को विकल्प नहुँदासम्म अवरुद्ध गर्ने पनि सङ्घर्ष समितिले जनाएको छ ।

शान्तिपूर्ण ढङ्गले माग राख्दा कुनै पनि सुनुवाइ नहुँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सडक बन्द गर्नु परेको सङ्घर्ष समितिका संयोजक खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?