रुकुममा शिक्षकले खेलबाड गरेको भन्दै विद्यालयमा ताला

रुकुम । शिक्षकले नपढाएको र व्यवस्थापन समितिले बेवास्ता गरेको भन्दै रुकुम पूर्वको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यामिक विद्यालय नायगाढमा ताला लगाइएको हो ।

विद्यालयको समग्र शैक्षिक सुधारमा कसैले पनि चासो नदेखाएको भन्दै विभिन्न आरोपसहित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुले नपढाइ हाजिर मात्र लगाएर जागिर पकाउने मात्र काम गरेको जनाएका छन् ।

कक्षा १० मा अध्ययनरत प्रदीप कुमार कामीले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको, शिक्षकहरुले मनोमानी गरेको, विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो ।

कक्षा १२ का प्लसमान घर्तीले विद्यालयको दैनिक पठनपाठनमा ध्यान नदिएर ट्युसन कक्षालाई अनिवार्य गराइ चर्को शुल्क असुल्ने धन्दामा शिक्षकहरु लागेको बताउनुभयो ।

यस्तै विद्यालयको आर्थिक तथा प्रगति विवरण, लेखा परीक्षण सार्वजनिक नगरिएको, वर्षौंदेखि विद्यालयको वार्षिक उत्सव लगायतका गतिविधि नगरिएको, कक्षा ११ र १२ मा नियमित पढाई नभएको, विषयगत शिक्षक महिनौसम्मसम्पर्क बाहिर रहेको लगायतका समस्याहरु विद्यार्थीले उठाएका छन् ।

तर विद्यालयका प्रधानाध्यापक मोहनकुमार रोकाले विद्यार्थीले लगाएको आरोप केही कुरा सत्य भएपनि मनोमानी नगरेको बताउनुभयो । विद्यालयको कमी कमजोरी भए छिट्टै छलफलबाट समाधान तर्फ लाग्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?