गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने ?

गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्भवती अवस्थामा सन्तुलित भोजन गर्न चिकित्सकको विशेषज्ञ सल्लाह रहन्छ। जसमध्ये प्रोटिन एक महत्वपूर्ण आहार हो।

प्रोटिन शिशुको विकासका लागि निकै आवश्यक मानिन्छ। खानाको माध्यमबाट शरीरलाई आवश्यक प्रोटिनको पूर्ति नहुँदा अधिकांशले प्रोटिन पाउडरको पनि सेवन गर्ने गर्छन्। गर्भावस्थामा प्रोटिन पाउडर कतिको आवश्यक र सुरक्षित छ?

गर्भावस्थामा प्रोटिन पाउडरको प्रयोग गर्नु अघि ध्यान दिन आवश्यक छ। सामान्यतया प्रोटिन पाउडर एथलिट गर्ने व्यक्तिले मसल गेन गर्नका लागि सेवन गर्छन्।

शरीरको तौल कम गर्न पनि यसको सेवन गरिन्छ। महिलाको शरीरमा प्रोटिनको कमी पुरा गर्न पनि प्रोटिन पाउडरको जरुरी छ? आमा र शिशु दुवैको सही विकासको लागि पनि प्रोटिन आवश्यक मानिन्छ। तर सबै गर्भवतीका लागि प्रोटिन पाउडरको आवश्यकता नभएको प्रसुति गृहका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिष्ट डा कीर्तिपाल सुवेदी बताउँछन्।

उनका अनुसार कुनै पनि महिला गर्भवती हुँदा उसको सामान्यतया १० देखि १२ किलो शरीरको तौल बढ्छ। तर कुनै महिला गर्भवती अवस्थामा पनि तौल बढेन अर्थात् निकै दुब्लो पातलो हुन सक्छ। शरीरमा प्रोटिनको कमी भएको अवस्था र गर्भवती महिला दुब्लो भएमा प्रोटिनको आवश्यक पर्ने उनले बताए।

आफुखुशी भन्दा पनि चिकित्सकको सिफारिस र सल्लाह अनुसार मात्र प्रोटिन पाउडरको सेवन गर्न डा सुवेदीको विशेषज्ञ आग्रह छ। शरीरमा प्रोटिनको कमीले आमा र बच्चा दुवैको विकासमा असर पर्ने उनले बताए।

प्रोटिनको कमीबाट बर्थ डिफेक्ट हुन सक्छ। सही मात्रामा प्रोटिनको पूर्ति नहुँदा बच्चामा कुनै प्रकारको अपाङ्गता पनि हुन सक्छ। शरीरमा प्रोटिनको मात्रा पुरा नभएको अवस्थामा चिकित्सकले प्रोटिन पाउडर सेवन गर्न सल्लाह दिन्छन्। प्रोटिन पाउडरको सेवनबाट हुने विभिन्न फाइदाहरु यहाँ उल्लेख गरिएका छन्ः

आमा र बच्चाको विकास
शरीरमा रिपेयरिंग र विकास गर्नु प्रोटिनको काम हो। बच्चाको मस्तिष्कको ठिकका लागि प्रोटिन महत्वपूर्ण हुन्छ। त्यसैले प्रोटिन बच्चा र आमा दुवैको स्वास्थ्यका निम्ति फाइदाजनक छ।

एनर्जी
गर्भावस्थामा महिलालाई थकाईको महसुस हुनु आम कुरा हो। उनीहरुलाई मूड स्वींग्स पनि भइरहन्छ। गर्भवती महिलाहरु सहज रुपमा काम गर्न सक्दैनन्। यस्तो अवस्थामा उनीहरुलाई प्रोटिन पाउडर दिने गरिन्छ। यसले उनीहरु स्वफूर्ति महसुस गर्छन्।

स्तनपान
शिशुको जन्मपछि महिलाहरुमा स्तनपानको समस्या पनि हुने गर्छ। यो समस्याको समाधानका लागि प्रोटिन पाउडर लाभदायक मानिन्छ।

रोग प्रतिरोधात्क क्षमता बढाउन
महिलामा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन प्रोटिन पाउडर महत्वपूर्ण मानिन्छ। प्रोटिनको कमीबाट बच्चाको विकास रोकिन सक्छ। विभिन्न संक्रमणको जोखिम पनि रहन्छ। प्रोटिनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस किसिमको जोखिम पनि न्यून भएर जान्छ।

मधुमेहमा फाइदा
चिनी नभएको प्रोटिन पाउडर लिन विशेषज्ञको सुझाव छ। सही प्रोटिन पाउडरको छनोट गर्न पनि उत्तिकै जरुरी छ। सही प्रोटिन पाउडरको प्रयोग गर्नेमा मधुमेहको समस्या पनि कम देखिन्छ।

कसरी छनोट गर्ने सही प्रोटिन पाउडर
१. प्रोटिन पाउडरमा यो गर्भवती महिलाको लागि हो, भनेर लेखिएको हुनुपर्छ।
२. प्रोटिन पाउडरमा कुनै प्लेजरिंग एलिमेन्ट भए नभएको जाँच गर्नुपर्छ।
३. प्रोटिन पाउडर राम्रो ब्राण्डको हुन आवश्यक छ।
४. गर्भवती महिलाले मल्टीभिटामिन ट्याबलेट खाइरहेको छ भने मल्टीभिटामिन भएको प्रोटिन पाउडर खरिद गर्नु    हुँदैन। किनभने धेरै मल्टीभिटामिनले शरीरमा समस्या निम्त्याउन सक्छ।
५. धेरैजसो प्रोटिनमा कृत्रिम गुलियोपन हुन सक्छ। यो शिशुको विकासको लागि बेफाइदा हो। यस्तो प्रोटिन पाउडर खरिद गर्नु हुँदैन।
६. कुनै महिलालाई केही कुराबाट एलर्जी छ भने प्रोटिन पाउडरमा त्यो कुरा मिसाईको छ की छैन भनेर चनाखो हुनुपर्छ।
७. प्रोटिन पाउडरमा क्याफिन भए नभएको पनि जाँच गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?