कम्प्युटर दराजमा, किताब मात्रै हेरेर परीक्षा दिँदैछन्‌ विद्यार्थी

जुम्ला । तिला गाउँपालिका–३ की रोशनी त्रिरुवा सरस्वती मावि कुरडारीमा कक्षा आठमा पढ्छिन्‌‌। उनले विद्यालयमा कम्प्युटर छन् ‌भन्ने सुनेकी मात्रै छिन्‌, देख्न पाएकी छैनन्‌।

हरेक विद्यालयमा ६ कक्षादेखि नै कम्प्युटर शिक्षा अनिवार्य छ। तर, विद्यार्थीले कम्प्युटर भने छुन पाउँदैनन्। ‘कम्प्युटर विषयको किताब पाएका छौँ, शिक्षक पनि राखेका छन्, ‌तर शिक्षकले किताब बाहेक कम्प्युटर कोठामा लिएका छैनन्‌,’ तिरुवाले भनिन्‌, ‘किताबकै पढाइ पनि कहिलेकाहीँ मात्रै हुन्छ, कम्प्युटर विषयको परीक्षा हामी किताब पढेकै भरमा दिन्छौं।’ कम्प्युटर के हो र कसरी चलाउने हो भन्नेबारे अहिलेसम्म आफूलाई केही थाहा नभएको उनले बताइन्‌।

त्यस्तै, सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अर्की छात्रा एलिना बुढाको दुखेसो पनि उस्तै छ। ‘कम्प्युटरबारे केही जानेको पनि छैन’, एलिनाले भनिन्‌, ‘किताब मात्र पाइन्छ, कम्प्युटर छुन पनि पाएका छैनौँ।’

सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको गुनासो पनि बुढा जस्तै छ। सबैले कम्प्युटर विषयको किताब पाएका छन्‌, तर कम्प्युटर नै चलाएर विषयशिक्षा लिन पाएका छैनन्‌।

​विद्यालयका प्रधानाध्यापक रामविलास यादवले कम्प्युटर विषय पढाउने शिक्षक राखिएको बताए। उनले आफ्नो विद्यालयमा कम्प्युटर पढाइ हुने गरेको पनि दाबी गरे।

सरकारले २०७० सालदेखि नै सामुदायिक विद्यालयमा कक्षा ६ बाटै कम्प्युटर विषय पढाउन थालेपनि दक्ष जनशक्ति नहुँदा व्यवहारमा लागू हुन सकेको छैन।

कम्प्युटर दराजमै राखेर तलब बुझ्छन्‌ शिक्षक 

कम्प्युटर विषयका शिक्षकले किताब मात्रै पढाएर तलब खाने गरेको विद्यार्थी रोशनी तिरुवाको गुनासो छ।

सरस्वती माध्यमिक विद्यालयमा प्रकाश थापालाई कम्प्युटर विषयको शिक्षक भनेर राखिएको छ।

‘शिक्षक नहुँदा विद्यालयले कम्प्युटर दराजमा थन्काएको थियो, तर अहिले तलब खाने शिक्षक छन्, कम्प्युटर छुन पाएका छैनौं,’ अर्का एक विद्यार्थीले भने।

दक्ष जनशक्ति अभाव हुँदा विद्यालयका २४ वटा कम्प्युटर कोठामै थन्क्याइएको विद्यालयका प्रधानाध्यापक यादवले बताए। उनले भने, ‘विद्यालयमा कम्प्युटर त छ, तर प्राविधिक सम्बन्धी दक्ष जनशक्ति छैन ,त्यसैले कम्प्युटरहरू नचलाइ राखिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?