नेता ज्यू, कसरी मिलेर बस्नुपर्छ, हामी परदेशीबाट सिक्नुहोस्

  • नारायण कोइराला, तानसेन पाल्पा/हाल, यूएई ।

लखतरान शरीर लिएर थचक्क खाटमा बस्दा बल्ल शरीर आफ्नै हो जस्तो लाग्छ । जब उमेर चालिस कट्छ, जवानीको जाँगरसँग तुलना गर्न नसकिने रहेछ । तर परदेशमा कामसँग मतलब हुन्छ, न कि उमेरसँग । काम गर्न सके भयो ।

यहाँ कसैको चाप्लुसी गरेर, कसैलाई होच्याएर, कसैलाई ठगेर पेट पाल्न सकिँदैन । हाम्रो देशका नेताहरूको भाषणले देशवासीलाई मक्ख पारेजस्तै मक्ख पार्न सकिँदैन । आफ्नै सहकर्मीलाई गाली गर्दै आफू ठुलो पल्टिन सकिँदैन ।

एकछिन खाटमाथि बसेर थकान मेटाएँ । खाटमुनि मैले बासी भात खाने गरेको ‘टिफिन बक्स’ थियो । खाटमा रहेको पुरानो कम्बल पनि मलाई चिसोबाट बचाउँदा, बचाउँदा थाकिसकेछ जस्तो देखिन्थ्यो । कम्बल पनि म जस्तो पातलिँदै गएको थियो ।

भोलि त ‘ह्याप्पी फ्राइडे’ । मन अलि खुसी भयो । एक हप्तादेखि पसिनाले गन्हाइ रहेका कपडाहरू पनि सफाइको प्रतिक्षामा थिए । मेरो टिफिन बक्स पनि भोलि त भातको तातो चिसोले पोल्लिनु र कठ्याङ्ग्रिनु पर्दैन भनेर ढुक्कै भएजस्तो देखिन्थ्यो ।

साँघुरो कोठामा फरक–फरक भूगोलका हामी एक आपसमा मिलेर बसेका छौँ ।  कम्पनीमा काम गर्ने बेला पनि विभिन्न देशका साथीभाइ हुन्छन् । देश, भाषा, धर्म फरक भए पनि भावना एउटै हुँदा हामीहरुबीच कहिल्यै विवाद भएन ।

एउटा कोठामा चारतले बेडमा मिलीजुली बस्छौँ । मुस्लिम साथीले बनाएको मटन बिर्यानी हामी सँगै मिलेर खान्छौं । हामीले बनाएको दालभात तरकारी उनीहरूले पनि मिठो मानेर खान्छन् । हामीहरुबीच कुनै वैरभाव छैन । आ–आफ्नो काममा जाने हो । खाली भएको बेला तथा बिदाको दिन मिलेर बस्ने हो । मुस्लिम साथीहरुले कुरान पढिरहँदा हामी दराजमा राखेको भगवानको सानो मूर्तिलाई ढोग्छौं ।

कसैलाई कुनै कुराको गुनासो हुँदैन । केही कुरामा चित्त बुझेन भने पनि मनलाई सम्झाउँछौ । यस्तै हो, मिलेर बस्नुपर्छ भन्ने लाग्छ । स साना कुरामा निहुँ खोज्न कसैलाई आउँदैन । साँच्चिकै हामी सानो कोठामा कोच्चिएर बस्दा पनि खुल्ला महसुस हुन्छ । असहजता भन्ने केही हुँदैन ।

तर, म देख्छु, हाम्रा राजनीतिक दलका महोदयहरू ,सहकार्यको कुरा गर्छन् । हामी पनि तातो बालुवामा काम गरेर बाँकी समयमा उहाँका कुरा सुन्ने गर्दछौँ । महोदयहरूले समय अनुसार भाषा बदल्न पनि अति जान्नु भएको छ । कस्तो विडम्बना, जुट फुट अनि सभा भाषणमा मात्र सीमित सहकार्य ।

देशको राजनीतिमा अहिले उत्पन्न घटनाहरूलाई नियाली रहेका हामी अति दुःखित र चिन्तित पनि छौँ । हुन पनि किन नहुनु ? खाडीको तातो हावामा रात दिन एक गरी कमाएर पठाएको रेमिट्यान्सको दुरुपयोग भएको देख्दा दुःख लाग्छ । देशको ढुकुटी चुनाव गर्नमा र कार्यकर्तालाई भरण पोषण गर्नमा लगाएको देख्दा दुःख लाग्छ ।

भन्न त देशमा गणतन्त्र छ, लोकतन्त्र छ, प्रजातन्त्र छ भनिन्छ । तर खासमा कुन तन्त्र चल्दैछ बुझ्न कठिन छ । के यी अनेकथरी तन्त्रमा एकले अर्कालाई दोष दिने र आफ्नै टाउको ठड्याउने मात्र हो ? एक नेताले अर्को नेतालाई गाली गर्ने, टिप्पणी गर्ने र झुटा आश्वासनका भाषणले देश बन्छ त । यसरी हुन्छ देशमा एकता, सद्भाव ?

हामी परदेशीहरूबाट सिक्नुस्, महोदय, कसरी एकता कायम गर्ने भनेर । फरक देश, फरक स्वार्थ, फरक धर्म भएर पनि कसरी आत्मीयता ल्याउने भनेर हामीबाट सिक्नुहोस् । हामी सधैँ आफ्नो निजी फाइदा मात्र हेर्दैनौँ । सबैको दुःख सुखका साथी बन्दछौँ ।

आफ्नै साथीभाइमाथि घात-प्रतिघात गर्न हामी परदेशीलाई आउँदैन । हामीजस्तो श्रमिकलाई चाप्लुसी गर्न आउँदैन, हामी परिश्रममा विश्वास गर्छौँ । हाम्रो मजदुरी अनि मेलमिलापको सहकार्य एकदम प्रष्ठ छ ।  तर तपाईंहरू आफ्नै देश, आफनै परिवेशमा पनि सफल सहकार्य गर्न सक्नु भएको  देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?