लिम्बु खानामा ४ थरी चटनी : फिलिङ्गेको अचारदेखि फर्सीको बियाँसम्म

लिम्बु जाति आफैँमा सांस्कृतिक सम्पन्नता युक्त जाति हो । भाषा संस्कृति, कला र साहित्यका कारण यो अरू जातिभन्दा भिन्न छ । लिम्बु जातिको खानपिनका केही परिकारहरू अरूकोभन्दा भिन्न छ । लिम्बुजातिको खाना र पेय पदार्थमध्ये हामीले उनीहरूले खानामा समावेश हुने परम्परागत अचारको बारेमा चर्चा गर्दैछौं ।

लिम्बु जातिमा विशेषगरी ४ प्रकारका अचारहरू सांस्कृतिक महत्त्व बोकेको खालका छन्, जुन तल उल्लेख गरिएको छ । किरात याक्थुङ चुम्लुङले तयार पारेको लिम्बुहरुको खाद्य तथा पेय पदार्थहरुको सूची अनुसार फिलिङगेको अचार, फाँदो, फर्सीको बियाँको अचार र मेसु लिम्बुहरुको मुख्य सांस्कृतिक अचार हो ।

फिलिङगेको अचार

फिलिङगे लिम्बुहरुको अचारको सूचीमा महत्वपूर्ण आचारको परिकार हो । कालो झुसे तिललाई लिम्बू भाषामा फिलिङगे भनिन्छ । यसैबाट बनाइएको यो परिकार लिम्बु जातिको खानपिनमा नभइनहुने अचार हो । फिलिङ्गेको अचार एक प्रकारको मसिनो लाम्चो आकारको कालो रङको तेलयुक्त खाद्य पदार्थ हो । पाहुनाहरुको खानपिनमा लिम्बू समुदायले अहिले पनि फिलिङ्गेको अचारलाई प्रायःजसो राख्ने गर्दछन् ।

कसरी बन्छ फिलिङ्गेको अचार ?

फिलिङ्गेको अचार बनाउँदा सबैभन्दा पहिले फिलिङगे (कालो झुसे तिल)लाई सफा गरी केलाउने, कराई तताएर आवश्यक मात्रामा भुट्ने, यसरी भुट्दा पाकेको फिलिङगेलाई नुन, खुर्सानी, अदुवा, लसुन, चिम्भिङ, खानाक्पा र वारेक्पाको मात्रा मिलाई ढिकी वा ओखलमा पीठो भइञ्जेल कुट्ने र पीठो भएपछि माथिबाट कागती वा चुक (कागतीको रस) मिलाएर यो अचार बनाइन्छ । यसरी बनाएको अचार एक महिनासम्म पनि बिग्रँदैन भन्ने मान्यता राखिन्छ ।

फाँदो

काँक्रा र मुलासँग साँधेर खाने लिम्बुजातिका अचारहरु विवाह तथा बर्खान्त जस्ता ठूलो जनसमूहलाई खुवाउने गर्छन् । लिम्बुजातिमा बढी लोकप्रिय फाँदो पिठोबाट बनाइने एक परिकार हो । भटमासको धुलोबाट बनाइने यो अचारमा नुन, खुर्सानी र कागतीको रस राखेर तयार पार्ने गरिन्छ ।

आवश्यक मात्रामा भट्मासलाई भुटेर त्यसलाई पिठो बनाइन्छ । उक्त पिठोमा नुन, खुर्सानी, सिर्पाेङमा राखेर पिठो बनाउने गरिन्छ । यसमा आवश्यकता वा चाहनाअनुसार कागतीको चुक वा रस लगाउन सकिन्छ । यसरी बनाइएको फाँदोलाई केही दिनसम्म राखेर खाने चलन छ ।

फर्सीको बियाँको अचार

फर्सीको बियाँको धुलो अचार पनि लिम्बु जातिको विशेष परिकार हो । खाजा, खाना र तोङबासँग यस्तो अचार खाने गरिन्छ । जसमा नुन, खुर्सानी सहित चिम्भिङ, खानाक्पा र कागतीको चुक समेत खाने गरिन्छ ।

अचार कसरी बनाउने ?

यस्तो अचार बनाउँदा सबैभन्दा पहिले फर्सीको बियाँलाई कराईमा भुटिन्छ । बियाँ पाकेको बास्ना आएपछि त्यसलाई निकालेर ओखलीमा हालिन्छ । त्यसमा नुन, खुर्सानी, चिम्भिङ र खानाक्पाको सन्तुलन मिलाएर हालेपछि बास्नादार अचार बन्ने गर्छ ।

मेसु

लिम्बूहरूको अर्को एक प्रचलित तरकारी र अचारको परिकार हो, मेसु । यो भालु बाँस, चोया बाँस वा निगालोको तामाबाट तयार गरिन्छ । बाँसले वर्षको एकपल्ट मात्रै तामा दिने भएकोले यो मौसमी प्रकारको तरकारी या अचार हो । गाग्री या अन्य भाँडामा राखेर अचार बनाउने गरिन्छ ।

कसरी बनाउने यो अचार ?

सबैभन्दा पहिले बाँसको झ्याङबाट तामा बाँस काटेर ल्याउने गरिन्छ । बाँसको तामाको बाहिरी भागलाई ताछेर फ्याक्ने गरिन्छ । बाहिरी भाग ताछेर रहेको तामालाई पातलो गरी टुक्रा टुक्रा बनाउने र सो टुक्राहरूलाई नुन छर्केर भिजाउने गरिन्छ । केही समयपछि तामाबाट पानी निस्किए जस्तो हुन्छ ।

त्यसमा रायोको बिउ दाना, नुन, सुकेको खुर्सानी पिसेर धूलो बनाउने र तामामा उक्त धुलो मिसाउँदै मोल्ने । तेलमा मेथीलाई झुराएर झान्ने त्यसपछि तेल सेलाएपछि तामामा राखी मोल्ने गरिन्छ । सफा माटोको भाँडो या सिसीलाई सफा कपडाले पुछेर तामालाई राख्ने र हावा नपस्ने गरी मुख बन्द गरेर यो तयार पार्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?