मैले जस्तै मेरा छोरीहरुले कामको लागि परदेशिनु नपरोस्

  • ओमकुमारी खाँण/पाल्पा, हाल यूएई ।

सन्तानबाट उसकै माता-पिता हराउनेछन्
इतिहासका प्रतिविम्ब भित्ता हराउनेछन् ।
के को निम्ति मरिमेट्छौ, कि यो कुरा बिर्सेका हौ
भरिएका पोखिनेछन्, रित्ता हराउनेछन् । ।

परदेश बसाइले फुराएको गजलको एक शेर हो यो । आजभन्दा ११ वर्ष पहिले म यूएई आइपुगेँ । केही थाहा थिएन परदेशको बारेमा । तर बाध्यता आइपरेपछि केही थाहा नभए पनि धेरै कुरा थाहा हुँदो रहेछ ।

पढ्दै गर्दा मेरो बिहे भयो । जिम्मेवारी बढ्यो । पारिवारिक सम्बन्ध पनि त्यस्तै–त्यस्तै भयो । त्यसपछि प्रवासतिर हाँकिनुपर्छ भन्ने विचार आयो मनमा । सुख-दुःख जसो हुन्छ त्यसै टर्ला भन्दै दुई छोरीलाई घरमै छाडेर म यूएई आएँ ।

सन् २०१० को जनवरी १८ मा वर्किङ भिसामा यूएई पुगेँ । जनवरी १९ बाटै काम सुरु गरेँ । क्लिनरको लागि भनेर पठाएको थियो, म्यानपावरले । तर यहाँ आइसकेपछि एजेन्सीले मलाई विद्यालयमा पठायो । त्यहाँ चिया बनाउने, फोटोकपी गर्ने जस्ता कामहरु गर्नुपथ्र्यो । त्यतिबेलाको तलब ६ सय ७० दिर्हाम थियो ।

यूएईमा आएपछि साहित्यिक जमघटमा सरिक हुन थालियो । यूएईमा रहनुभएका नेपाली दाजुभाइ, दिदी बहिनीहरुमाझ साहित्यले नै मलाई चिनायो । अहिले आएर हेर्दा समयले निकै लामो फड्को मारिसकेछ जस्तो लाग्छ । त्यतिबेलाको तुलनामा अहिले कमाइ पनि राम्रै छ । धेरैसँग चिनजान छ । जता गए पनि आफ्नोपन महसुस हुन्छ । तर ‘जति भाँडो उति चुपुर्को’ भनेजस्तै जति भए पनि नपुग्दो रहेछ जिन्दगीमा । के सम्पत्ति, के माया ।

तुलनात्मक रुपमा मेरो जे जति प्रगति भयो, त्यसको कारण काम प्रतिको लगनशीलता र इमान्दारिता नै हो जस्तो मलाई लाग्छ । सुरुमा त निकै गाह्रो लाग्थ्यो । न भाषा बुझेको, न त धेरै पढेको । यता बोलाउँदा उता जाने, उता बोलाउँदा यता जाने हुन्थ्यो ।

विस्तारै भाषा सिक्दै गएँ । त्यसपछि काम सिक्न एकदमै सजिलो भयो । नेपालबाट विदेश जानेहरुलाई पनि म आफू जाने देशको भाषा सिकेर जान आग्रह गर्छु । यति सिकेर गए धेरै सजिलो हुन्छ । त्यसपछि काम प्रतिको इमान्दारिता देखाउनुपर्यो । आफूभन्दा माथिल्लो तहको कर्मचारीले रिसायो भने पनि सहनुपर्छ । सिक्ने चाहना राख्नुपर्छ ।

विशेषगरी म नेपाली दिदीबहिनीहरुलाई विदेश आउँदा बुझेर आउनुस् भन्न चाहन्छु । म्यानपावर तथा दलालका कुरामा सजिलै विश्वास नगर्नुस् । यदि आफूलाई पढ्न आउँदैन भने पनि आफू आसपासमा भएका जान्ने मान्छेहरुसँग सोधेर कामको बारेमा बुझ्नुहोस् । कम्पनीमै जानेहरुलाई खासै गाह्रो हुँदैन । कम्पनीकै मान्छे एअरपोर्टसम्म लिन आउँछन्, खानेबस्ने व्यवस्था हुन्छ । तर घरको काम तथा भिजिट भिसामा भनेर जानेहरुले भने धेरै सोच्नुपर्छ । नेपाली दिदी बहिनीहरु ठगिने पनि प्राय यस्तै ठाउँमा हुन् ।

यूएईमा महिलाहरु कत्तिको सुरक्षित छन् भन्ने प्रश्न पनि सोधिने गरिन्छ । यसमा म ‘आफू भलो त जगतै भलो’ भन्ने नेपाली उखानलाई सम्झिन चाहन्छु । आफू सही बाटोमा हिँड्ने हो भने त्यति गाह्रो हुँदैन । आफ्नो मन विचलित गराउनुभएन । अरुले मिठो बोल्यो भने त्यतैपट्टी ढल्किनु भएन । आफूले आफूलाई जोगाउन सकियो भने महिलाहरु यूएईमा असुरक्षित छैनन् ।

नेपाली दिदीबहिनीहरुले आफ्नो कम पढाइकाबारे गुनासो गर्ने गरेको देख्छु । उहाँहरुले आफ्नो पढाइको कारण केही गर्न सकिएन भन्ने सोचाइ राख्नुहुन्छ । पढ्न नपाउनु अथवा पढ्न नसक्नु आफ्नो ठाउँमा हुन्छ । तर नपढे पनि जीवन त राम्रोसँग चलाउन सकिन्छ नि । कतिपयले पढेर सिक्छ भने कतिपयले परेर सिक्छन् । जहिल्यै सकारात्मक सोच बनाउनुपर्छ ।

सानोमा आकाशमा जहाज उडेको देख्दा म एकदिन त्यो जहाज चढेर देखाउँछु भनेर भन्थेँ । पछि म यूएई आएपछि बुवाले भन्नुहुन्थ्यो रे,  ‘मेरो छोरीले जहाज चढेर देखाउँछु भन्थी नभन्दै गरेरै छाडी ।’ यो कुनै ठूलो कुरो त होइन तर आफ्नो कमजोर अवस्थालाई हेरेर सपना देख्न छाड्नुहुन्न भन्ने मेरो मान्यता हो । आफूले आफैलाई कमजोर बनाउनु हुँदैन । असफलताको डरले केही नगर्नु भनेको आफूले आफैलाई धोका दिनु हो ।

कहिलेकाहीँ समस्याहरु त आउँछन् नै । यो प्रकृतिको नियम नै हो । यस्तो अवस्थामा आत्तिनु हुँदैन । कोरोनाको बेला म आफै पनि तीन महिना बेरोजगार भएर कोठाभन्दा बाहिर ननिस्केर बसेकी थिएँ । समस्या टरेर गइहाल्छ भन्ने लागेको थियो । ढिलै भए पनि त्यसको त्रास अहिले हटेर गएको छ । रोजगारी गुमाउनुपर्दा म जस्तै धेरै नेपालीहरु यूएईमा समस्यामा पर्नुभयो । त्यो बेला नेपाली समाज यूएई र एनआरएनएले राहत वितरण गरेर धेरै सहयोग गरेको थियो । अहिले अवस्था सामान्य छ ।

तर अब धेरै बसिन्न होला यूएईमा । अब स्वदेशमै फर्किनुपर्छ भन्ने सोच छ । यूएईले मलाई धेरै कुरा सिकायो । मलाई एक परिचय दियो । धेरैको माया दियो । मेरो कर्म थलो बन्यो । यहीँको कमाइले मैले छोरीहरुलाई पढाइरहेकी छु । बुवाआमाको हेरचाह गर्न सकेकी छु । आफूले पाएको दुःख छोरीहरुले नपाउन् भन्ने लाग्छ । मेरो छोरीहरुले पनि मलाई जस्तो कामको लागि परदेश आउनु नपरोस् । राज्यले सबै नागरिकको रोजगारीको सुनिश्चितता गरोस् । यही नै मेरो चाहना हो । अन्त्यमा :

देशमै रोजगारी दिए, को आउँथ्यो परदेशमा ।
सीपको फाइदा लिए, को आउँथ्यो परदेशमा ।

आफ्नाले नै चिन्न कञ्जुस्याइँ गर्छन् यहाँ,
जता हेर्छुं स्वदेशी थिए, को आउँथ्यो परदेशमा ।।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =