अनेकौं सम्भावना बोकेको सुनछहरी गाउँपालिका

राेल्पा । रोल्पा जिल्लाको १० स्थानीय तह मध्ये दुर्गम र पिछडिएको गाउँपालिका हो । सुनछहरी मानव बिकासको सुचाङ्कमा जिल्लाकै सबभन्दा पछाडि परेको गाउँपालिका पर्यटन कृषि र भाषा संस्कृतिले धनी छ । लुम्बिनी प्रदेश कै एक पर्यटकीय स्थल सुनछहरी झरनाको नाम बाट नामाकरण गरिएको गाउँपालिका रोल्पा जिल्लाको पुर्वी उत्तरी भेगमा २७७.६२ वर्ग कि. मि क्षेत्रफलमा फैलिएको छ ।

जडिबुटी,पर्यटन पशुपालन, कृषि, खानी प्राकृतिक सम्पदाको हिसाबले प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । बिशेश गरि सुनछहरी गाउँपालिका पर्यटनको उच्च सम्भावना बोकेको गाउँपालिका हो । सुनछहरी झरना, बिबाङ दह, दहबाङ दह, तिलाचन दह, कोठिभिर, जलजला , बजुधुरी लगाएतका स्थानहरु पर्यटकीय सम्भावना बोकेको स्थानहरु हुन् ।

सुनछहरी गाउँपालिका त्यस्तै युद्ध पर्यटनको लागि पनि उच्च सम्भावना रहेको छ । वि. स. २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले देशमा संचालन गरेको जनयुद्धले यस गाउँपालिका पनि अछुतो रहेन । यस गाउँपालिकाको वडा नम्बर ७ जेलबाङ देशमै सबभन्दा बढी सहिद भएको गाउँ हो।यो गाउमा पार्टीका विभिन्न केन्द्रिय तथा क्षेत्रीय लगाएतका गतिविधिहरु संचालित भएका थिए ।

सुनछहरी गाउँपालिकाको गामको तमाली मेलाबाट तत्कालीन संयुक्त जनमोर्चा र सत्ता पक्षीयहरु बिच लडाइँ भए पछि जनयुद्ध सुरुवात भएको हो । गाम जनयुद्ध भरी चर्चाको शिखरमा चुमिरह्यो । अझ गामको गोङबाङ युद्ध भए पछि झनै चर्चामा आएको थियो । तसर्थ गाम पनि एक ऎतिहासिक गाउँ बन्यो । सुनछहरीको जेलबाङ हुँदै जलजला जाने जलजला बाट जनयुद्धको राजधानी थबाङ जाने एउटा रुट हो । तसर्थ जेलबाङबाट जलजला हुँदै थबाङ गुरिल्ला पदमार्ग निर्माण गर्न सकिन्छ । जलजला पनि युद्ध पर्यटनको लागि सम्भावना छ । सुनछहरी गाउँपालिकाको गाम जहाँ युद्धको समयमा भएको युद्ध स्थल लगाएत थुप्रै सम्भावना बोकेका ठाँउहरु रहेका छ्न ।

गाउँपालिकामा जनयुद्धका थुप्रै बिद्रोही पक्षका थुप्रै बङ्कर, चौतारी, गेट चेक पोस्ट, तालिम स्थलहरु लगाएतलाई जेलबाङको मङगले बुढामगरको पुरानो घर, सहिदका जीवनी बारे अध्ययन स्थल बनाई युद्ध पर्यटनको थुप्रै सम्भावनाहरु रहेका छ्न ।

यस गाउँपालिका भित्र रहेका जेलबाङ फलाम खानी, जेलबाङ सिसाखानी, जैमाकसलाको तामाखानी लगाएतको खानीहरुको बैज्ञानिक रुपमा अध्ययन उत्खनन प्रशोधन तथा प्रवर्द्धन गरि उधोगको बिकास गर्न सके आयआर्जन तथा रोजगारीको प्रचुर सम्भावना बढने देखिन्छ । साथै यस गाउँपालिकाको विभिन्न क्षेत्रहरूमा पाइने पदमचाल, तिमुर, पाँचऔले, दालचीनी, सतुवा अमला, रिठा चिराइतो आदि जडिबुटीहरुलाई प्रवर्द्धन गरि निर्यात गर्दा रोजगारीको साथै आयआर्जनको सम्भावना रहेको छ ।

गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरू तमाखे मेला,तिलाचन दह,बिबाङ दह,जेलबाङ भुमेथाला लगाएत स्थानीय अन्य कला संस्कृती,भाषा साहित्य लगाएतका अन्य स्थानीय सम्पदाहरुको संरक्षण तथा प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।
यस गाउँपालिका पशुपालन र कृषिको लागि अत्यन्तै सम्भावना बोकेको छ।गाउँपालिका उच्चपहाडी क्षेत्र बढि पर्ने भएकोले यहाँ भेडा,बाख्रा र गाई भैंसीलगाएतका पशुपालनका लागि यस गाउँपालिका सम्भावना युक्त रहेको छ।घासे डाडापाखा र उच्च पातन भेग भएकोले पशुपालनको सम्भावना रहेको छ।भने गर्मीमा हुने देखि अत्यन्तै चिसोमा हुने फलफुल र खाद्य बाली यस गाउँपालिकामा हुन्छ।उच्च भेगमा फापर,जौ आलु हुन्छ भने कोदो,मकै,र धान खेती सम्म हुने भएकोले यस गाउँपालिका कृषि गर्न पनि अत्यन्तै सम्भावना रहेको छ।फलफुल खेतीहरु उच्च पहाडी तथा समसितोष्ण हावापानीमा हुने खालका सुन्तला,कागती,नास्पती,मौसम,केरा,आँप ,मेवा,किबी,अङ्गुर,आरुबखडा,ओखर,अम्बा आदि व्यवसायी रुपमा उत्पादन तथा वितरण गर्न सकिने सम्भावना छ।गाउँपालिका भित्रको जलवायु मौसम वातावरण तथा जोनक्षेत्रहरुको बिकास गरि व्यवसायी तरकारी खेतीको प्रचुर सम्भावना देखिन्छ।

यस गाउँपालिकामा कृषिको लागि सिंचाइको लागि पनि थुप्रै सम्भावना रहेको छ । सुनछहरी गाउँपालिका वडा नम्बर १ को घुस्बाङ खोला, सुनछहरी गाउँपालिका वडा नम्बर २ भित्रीगामको खोला, सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरीगाम खोला, सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङ खोला सिंचाइको लागि उपयुक्त रहेको छ । यदि यी खोलाबाट सिंचाइको सुबिधा पुर्याउन सके कृषिमा थप बिकास हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?