नियम निलम्बन गरेर अध्यादेश अगाडि बढाउने पक्षमा छुँ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश अगाडि बढाउने पक्षमा आफू रहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले नियम निलम्बन गरेर भए पनि अध्यादेश अगाडि बढाउने पक्षमा आफू रहेको बताएका हुन्।

प्रतिनिधिसभाका सभामुख  सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदलाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफलका लागि समय मागेकाे बताए। सभामुख सापकोटाले भने, ‘संसदलाई प्रभावकारी बनाउन छलफलका लागि समय मागेको छु। समय पाउनेमा आशावादी छु।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक रुपमा भेटवार्ता भएको छैन। पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले सरकारका काममा आफूले बाधा अड्काउ केही नगरेको बताए।

प्रधानमन्त्री ओलीले भने सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। प्रधानमन्त्रीले लगाएका आरोपका विषयमा प्रश्न गर्दा सभामुख सापकोटाले भने, ’यो विषयमा सबै कुरा खुल्ला नै छ। मेरो भन्नु केही छैन।’

पछिल्लो समय सभामुख सापकोटाको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट छन्। सभामुख साझा व्यक्ति भए पनि राजनीतिक विषयमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको आरोप छ। सभामुख सापकोटाले रिक्त रहँदै आएको उपसभामुख निर्वाचनको विषयमा संसद सचिवालय तयार रहेको भए पनि दलहरु तयार हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?