खडेरी बढेसँगै देउखुरीका जंगलमा डढेलो

  • उमेश बन्जाडे

दाङ । मौसममा आएको परिवर्तन र बढ्दो खडेरीले दाङको देउखुरी उपत्यकाका सामुदायिक वनहरूमा डढेलोले विकराल रूप लिन थालेको छ।

देउखुरीको टिकुलीगढ सामुदायिक वन, जखेरा सामुदायिक वन, त्रीशक्ती सामुदायिक वन, बराहक्षेत्र सामुदायिक वन, जनता सामुदायिक वन लगायतका वनमा यतिबेला डढेलोले उग्ररूप लिएको हो ।

हुनत हरेक वर्ष गर्मीयाम सुरु भएसँगै दाङका मात्रै नभएर देशका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्ने कुरो नयाँ होइन । यद्यपि यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा तारे होटल एवं रेस्टुरेन्टमा हुने ‘सचेततामूलक’ नाम दिइएका कार्यक्रमले झिनो भूमिकासम्म निभाउन नसक्ने जखेरा सामुदायिक वन उपभोक्ता समितिका सचिव लोकमणि बन्जाडेको धारणा छ ।

स्थानीय स्तरमै गएर समुदायको मनोबल बढाउँदै वन र वन्यजन्तुको संरक्षण कसरी गर्ने भनी सचेतना फैलाउन सके बन फडानी र डढेलो नियन्त्रण गर्नमा सहयोग पुग्ने त्रिशक्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव बालकृष्ण चौधरीको भनाइ छ ।

यता डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी प्रेमिलाल प्रसाद आफूहरूले संचारमाध्यममार्फत सूचना फैलाइरहेको र नेपाल आर्मी लगायतका सुरक्षाकर्मी तैनाथ गरेर डढेलो नियन्त्रणमा लागिपरेको प्रतिक्रिया दिन्छन् ।

अघिपछि सामान्य बन पैदावरमा अंकुश लगाउने वन डिभिजन कार्यालयले ‘विभिन्न सुरक्षा फौज खटाएका छौँ’ भन्दा आफूहरूलाई हाँसो उठेको बराहक्षेत्र सामुदायिक वन उपभोक्ता समुहका स्थानीय रामलाल चौधरीको भनाइ छ।

‘वनमा आगोको मुस्लो मात्रै देखिन्छ, वन डिभिजन कार्यालय सुतेकै हो कि उठेको?,’ जखेरा सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार छविलाल केसी प्रश्न गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?