एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने, ‘पुरानो शैलीको घर ओलीलाई मन पर्‍याे’

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्ने भएको छ । चक्रपथ विस्तारका कारण अहिले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा आउजाउमा असहज हुने भएपछि थापाथलीमा सार्ने तयारी भएको हो ।

थापाथली हाइटमा सञ्जय अग्रवालको घरमा कार्यालय सर्ने लगभग पक्का–पक्की भएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले उज्यालोलाई जानकारी दिनुभयो । यो घर उद्योग पूर्वराज्यमन्त्री मोतीलाल दुगडले खोज्नुभएको र एक/दुई दिनमै सम्झौता हुने रिजालको भनाइ छ ।

पुरानो शैलीमा निर्मित घरको प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षणसमेत गर्नुभएको छ । बुधवार थापाथलीमै भएको अर्को कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री ओलीले सर्न लागेको नयाँ भवनको निरीक्षण गर्नुभएको हो ।
‘पुरानो शैलीको घर प्रधानमन्त्री ओलीलाई मन परेको छ, छिटै हामी थापाथलीमा सर्छाैँ’, एक नेताले भने ।

विसं २०७२ को भूकम्पले बल्खुकाे मदननगरमा रहेकाे पार्टी मुख्यालय भत्किएपछि एमालेले धुम्बाराहीकाे पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिइ पार्टी मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक दुई लाख २५ हजार रुपैयाँ तिरिँदै आएको थियो ।

नेकपा एमालेले मदननगर बल्खुमा नयाँ भवनको छिटै शिलान्यास गर्ने र नयाँ भवनको काम पूरा नहुञ्जेल थापाथलीमा नै कार्यालय रहने सम्भावना रहेको पनि सचिव रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?