पारुको अंगालो !

  • पाण्डव शर्मा

छोराको स्कुल बस आउन निकै ढिलो भएको थियो । अफिसबाट मलाई तारन्तार फोन आइरहेको थियो । अरु दिन पौने १० बजे नै आइपुग्ने स्कुल बस त्यो दिन भने सवा १० बजे आयो । खाना नखाएरै हतारहतार अफिस हिडे । भर्खर जागिर शुरु भएको एक महिना भएको थियो । अफिसमा सबैसँग घुलमिल भइएको थिएन ।

तीन वर्ष मलेशियाको जागिर छाडेर मैलै नेपालमै एउटा प्राइभेट कम्पनीमा जागिर शुरु गरेको थिए । अफिसमा मेरो काम कम्यूटर अपरेटरको थियो । कम्यूटरमा राम्रै ज्ञान भए पनि म सोँचे जस्तो जागिर पाउन नसकेर तीन वर्ष पहिले विदेश हानिएको थिए । यस पटक भने घरमा बाआमा, श्रीमति र छोराको दवावमा म विदेश नजाने निधोमा पुगेको थिए ।

नेपालमै केही गर्नुपर्छ भन्ने परिवारको चाहना थियो । मलाई भने पटक्कै नेपाल बस्न मन थिएन । विदेशमा महिनाको ४० हजार कमाएको मान्छे नेपालमा भने मैले १२ हजारमै जागिर गर्नुपरेको थियो । जे भए पनि घरको खाना । परिवारको साथमा बस्न पाउँदा म निकै खुसी थिए । अफिसमा पनि मेरो काम देखेर म भन्दा माथिल्लो पदमा काम गर्नेहरु खुसी नै थिए ।

अफिसको मुख्य हाकिम हुनुहुन्थ्यो रमेश सर । रमेश सरसँग राम्रोसँग सहकार्य नहुँदै कम्पनीले उहाँलाई काठमाण्डौं सरुवा गरेको थियो । म नयाँ कर्मचारी भएर पनि होला । नयाँ हाकिम को आउँदै हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । कम्यूटर अपरेटर भएर पनि होला धेरै समयसम्म हाकिमसँग काम गर्नुपर्ने । रमेश सरले तयार पारेका कागजपत्रहरु टाईप गर्नुपर्ने, प्रिन्ट गर्नुपर्ने र मेल गर्नुपर्ने मेरो काम थियो ।

हुन त रमेश सर पनि अलि अलि कम्यूटर चलाउन जान्नुहुन्थ्यो । उहाँ विदाई हुँदा भन्नुभएको थियो, ‘पवन तिम्रो काम देखि म प्रभावित भएको छु । छोटो समयमा मेरो मन जितेका छौं । तिम्रो उज्ज्वल भविष्यको कामना । अब झन् तिम्रो काम बढ्छ, अब एक जना म्याडम मेरो ठाउँमा आउँदै हुनुहुन्छ, उहाँलाई कम्प्यूटर चलाउन नै आउँदैन । अब अफिसमा कम्प्यूटर सम्बन्धि सबै काम तिमीले गर्नुपर्छ ।’

रमेश सरको कुरा सुनेर म अलि अलि उत्साहित पनि भए । अनि केही अप्ठेरो पनि लाग्यो । अफिसमा जिम्मेवारी बढ्दा तलव पनि बढ्छ कि भन्ने अपेक्षा थियो । अर्को तर्फ रमेश सर गए पछि अर्को हाकिम कस्तो स्वभावको आउने हो भन्ने चिन्ता थियो । मलाई काम गर्न अप्ठेरो पो पर्ने हो कि भनेर मनमनै डराएको पनि थिए । तर, मलाई आफ्नो काममा पूर्ण विश्वास थियो । म जस्तो हाकिम आए पछि कामले मन जित्छु भन्नेमा ढुक्क थिए ।

अफिस पुगेपछि बल्ल मलाई थाहा भयो । आज अफिसमा नयाँ हाकिम आउँदै हुनुहुन्छ भनेर । उहाँको स्वागत कार्यक्रम आजै राखिएको रहेछ । अफिसमा हिजो अलि चाँडै म घर फर्केकाले मैले खबर पाउन सकेको रहेनछु । अफिसमा स्वागतको पूर्ण तयारी थियो । नयाँ हाकिम अँझै आइपुग्नुभएको थिए । मेरो मनमा नयाँ हाकिम कस्तो हुनुहुन्छ ? उहाँको स्वभाव कस्तो होला ? मैले प्रत्यक्ष काम गर्दा उहाँबाट कस्तो व्यवहार होला ? भन्ने कुरा खेलिरहेको थियो । अनि साथ साथै रमेश सरले म्याडम हुनुहुन्छ नयाँ हाकिम भन्नुभएको थियो । धेरै साथिहरुले सरहरुसँग भन्दा म्याडमहरु हाकिम भएको अफिसमा काममा पेलान हुन्छ भन्ने गर्दथे । मलाई यी कुराहरुको कौतुहलता जागिरहेको थियो ।

घडीले पौने ११ नबज्दै अफिसमा एउटा रातो कार आयो । सबै साथीहरु फूल र माला लिएर नयाँ हाकिमको स्वागतमा लाइनमा लाग्यौं । म पनि एउटा माला लिएर लाइनको छेउमा बसे । भर्खरभर्खर अफिस ज्वाइन गरेकाले म धेरैसँग आत्मिए भएको थिएन । साथिहरुका बिचमा पनि म एक्लो जस्तो भएको थिए । कारको धोका खुल्यो ।

ड्राइभरले आफ्नो ढोका खोले लगत्तै पछाडीको ढोका खोल्यो । कारबाट हाकिम साप निस्कनुभयो । जब हाकिम जाप निस्कनुभयो । तब, मेरो मन छाँगाबाट खसे जस्तो भयो । म अलि हडबडाए । कताकता डर पनि लाग्यो । अनि कता कता उत्साहित पनि भए । अनि भावुक पनि । अफिसका लागि नयाँ हाकिम भए पनि मेरालाई निकै परिचित पात्र पारु । पारु मेरो स्कुल पढ्दाको मिल्ने साथी । कलेज पुग्दा सम्मको एउटा प्रेमी । जो मेरो मन, मुटु र मष्तिस्कमा बसिकेको मान्छे । अनि म कैयौं पटक रोएको । कैयौं पटक हाँसेको अनि कैयौं पटक झगडा गरिसको मान्छे ।

हिजोकी पारु र आजकी पारुमा निकै भिन्नता थियो । पारुसँग मेरो भेट नभएको १२ वर्ष भइसकेको थियो । यति वर्षपछि भेट्दा अनुहारमा कताकता फरकपन । पहिले भन्दा अलि मोटाएकी थिइन् पारु । सबैले माला लगाएर स्वागत गर्दै थिए । म छेउमा भएकाले म भएको ठाउँसम्म आइपुग्न पारुलाई दुई÷तीन मिनेट लागिसकेको थियो । बिचमा अरुसँग कुरा गर्दै माला लगाउँदै गर्दा म भने टोलाएर बसेको थिए ।

म अलमल परे । हाकिम साप नमस्ते भनु कि ? पारु के छ खबर ? भनु भनेर निकै अलमल परे । एक मनले किन म्याडम भन्नु सिधै पारु भनेर बोलाउँछु भन्ने सोँचे । अर्को मनले म यो अफिसमा एउटा कम्प्यूटर अपरेटर । पारु अफिसको हाकिम । मैले आफ्नो हैसियत भुल्नुहुँदैन भन्ने पनि सोँचे । यति कुरा मनमा खेल्दा खेल्दै पारु मेरो नजिकमा आइसके थिइन् ।

हातमा माला समाएरै ‘नमस्ते म्याम’ भने । अनि म पवन शर्मा भनेर आफ्नो परिचय थिए । गलामा माला लगाई दिए । पारुको गलामा माला लगाउँदा मलाई निकै आनन्द पनि लागेको थियो । म १२ वर्ष पहिले फर्किए । त्यतिबेला पारु र म बीच यसरी नै गलामा माला लगाएर विहे गर्नेसम्मको योजना थियो । तर, हाम्रो प्रेममा व्रजपात भएको थियो । हामी कहिल्यै आफ्नो नबन्ने गरी विछोड भएका थियौं । हामीबीच पछिल्लो पटक फोनमा सम्पर्क नभएको पनि १० वर्ष पुगिसकेको थियो ।

पारुलाई नभेटेको १२ वर्ष र उनको बोली नसुनेको १० वर्ष भइसकेको थियो ।
मैले लगाइदिएको माला गलामै राखेर पारु तीन पाइला अगाडी हिडिसकेकी थिइन् । एक्कासी उनी म भए तिर फर्किन । मेरो नजिकमा आइन । ‘तिमी उहीँ पवन होइन र ?’ पारुको प्रश्नले म निकै अलमल परेको थिए । टाउको हल्लाउँदै त्यहीँ पवन भएको कुरालाई स्वीकार गरे । आफ्नो अगाडी १२ वर्ष पछि पारुलाई देख्न पाउँदा म निकै भावुक भएको थिए ।

पारु र म बीचको दूरी निकै कम थियो । पारुको अगाडी उभिन पाउँदा पनि मलाई निकै आनन्द लागेको थियो । एक मनले पारुको अगाडी चिच्याएर रोउँकी भन्ने सोँचे । तर, म फरक परिवेश र भूमिकामा पारुको अगाडी थिए । हामी कुनै एकान्त ठाउँमा थिएनौं ।

मैले मेरो इज्जत मात्र होइन । पारुको इज्जतको पनि ख्याल गर्नुपर्ने थियो । साथै अफिसको जिम्मेवारी पनि । अरुको नजरममा एउटा हाकिमको अगाडी एउटा कम्प्यूटर अपरेटर उभिएको थियो । तर मैले पारुलाई अफिसको हाकिम भन्ने भुलिसकेको थिए । आँफूलाई कम्प्यूटर अपरेटर भन्ने पनि भुलिसकेको थिए । खालि पारु र म मात्रै भएको अनुभूति लागेको थियो । त्यति बेलाकी लुरी पारु अहिले मोटाएकी थिइ ।

खानपानले पनि होला उनको अनुहारमा चमक थियो । हरियो सारी र निलो व्लाउज लगाएकी थिइ । आँखामा गाजल । निधारमा एउटा सानो टिका । मिलेका आखिभाउ । पुक्क उठेका छाँती । ओठमा हल्का लिपिष्टिक । निकै सुन्दर देखिएकी थिइ पारु । नजिकै भएकाले पनि होला उनको शरिरबाट प्रोफिमको सुगन्ध पनि आइरहेको थियो । म त्यो सुगन्धमा हराइसकेको थिए । एक्कासी मेरो नजर पारुको सिउँदोमा पुग्यो । जुन सिउँदामा अर्काको सिउँदो भरिएको थियो ।

हामीले सयौं जुनी साथै विताउने वाचा गरेका थियौं । तर, पारु र मेरा सबै योजनाहरु सपनामा सिमित भएका थिए । बिहेको अघिल्लो दिन हाम्रो फोनमा कुरा भएको थियो । फोना राख्दै गर्दा अन्तिममा पारुले भनेकी थिइ–‘हामीबीच पवित्र मायाँ छ, कुनै दिन अवष्य भेट होला ।’ त्यसपछि करीब ६ महिना हामीबीच फोनमा कुराकानि हुन पाएन ।

विहे भएको ६ महिना पछि फेरी फोनमा कुराकानि हुन थालेको थियो । त्यो फोनले करीब साढे एक वर्ष निरन्तरता पाएको थियो । तर, पछिल्लो १० वर्षमा हामीबीच भेटको कुरा त के एक पटक पनि फोनमा कुराकानि भएको थिएन ।

स्वागत कार्यक्रम सकिए पछि अफिसको बैठक हलमा परिचयात्मक कार्यक्रम र आफ्नो पद तथा जिम्मेवारीको बारेमा हाकिमलाई जानकारी दिनुपर्ने भयो । अनि साथै आफ्ना केही समस्या छन् भने नयाँ हाकिमलाई भन्नुपर्ने भनिएको थियो । केही समय पहिलेसम्म मैले नयाँ हाकिमसँग केही गुनासो गर्ने योजना बनाएको थियो । मेरो अपेक्षा तलव बढाउने थियो । तर, जब नयाँ हाकिमको बारे जानकारी भयो मलाई आफ्नो तलवको वारेमा कुरा राख्नै मन लागेन । सबैले आ–आफ्नो परिचय र जिम्मेवारी भनिरहेका थिए ।

मैले परिचय दिनुपर्ने पालो आयो । जुरुक्क उठे । ‘म पवन शर्मा । मेरो पद कम्प्यूटर अपरेटर । म भर्खरै सरुवा भएर जानुभएको हाकिमसापको असिस्टेनको काम पनि गर्छु ।’

मैले परिचय दिँदा एक पटक पनि सिधा नजरले पारुलाई हेर्न सकिन । म दुविधामा थिए । पारु के पहिले जस्तै होलिनन् त ? मलाई कस्तो व्यहार गर्लिन ? मलाई त्यहीँ पवनको रुपमा बुझ्लिन् कि आफ्नो असिष्टेन्ट ? कताकता आँफूलाई गिल्टी फिल पनि भएको थियो ।

म जीवनमा पारुको सारथी बन्न चाहन्थे । उनको जीवनको मालिक बन्न चाहन्थे । तर, परिस्थितिले मलाई पारुको असिष्टेन्ट बनाएको थियो । म आँफैलाई सम्हाल्न सकेको थिएन । मेरो मनमा अब मैले पारुसँग कस्तो व्यवहार गर्ने होला ? उनलाई प्रत्यक दिन म्याम नमस्ते भन्ने होला कि नहोला ? अथवा पारु भनेर बोलाउने होला ? उनले मलाई कसरी काम अह्राउलिन ?

परिचयात्मक कार्यक्रम सकिए पछि म पारु भएको रुमा गए । किन की मैले काम गर्ने कम्प्यूटर पारु भएको रुमै थियो । म असिष्टेन्टको रुपमा पारुको अगाडी उभिएको थिए । अफिसमा छिर्नुभन्दा पहिले ढोकामा केही बेर रोकिए । भित्र पस्न मलाई निकै गाह्रो भएको थियो ।

म कुन स्वरुपमा भित्र पस्ने ? कसरी प्रस्तुत हुने ? भन्ने कुराले निकै अलमल पारेको थियो । आँट गरेर ढोका खोले । ‘स्क्यूज मि म्याम’ मेरो बोली खस्न नपाउँदै पारु आँफू बसेको कुर्सीबाट जुरुक्क उठिन । उनको मुखबाट ‘मेरो पवन ।’ भन्ने आवाज आयो ।

उनको ‘मेरो पवन’ भन्ने शब्दले मेरो मनलाई निकै विक्षिप्त बनायो । पारुको त्यो पवन अहिले अर्कैको भइसकेको थियो । अर्कैको भए पनि ७ वर्षको छोराको बाउ भइसकेको थिए । म सरुको पवन भइसकेको थिए । मेरो जीवनमा सरुको प्रवेश भएको थियो । पारुको माया सरुले दिइरकेकी थिइन् । म सरु भित्र पारु देखिरको थिए । म कैयौं साँझ पारुलाई सम्झेर सरुलाई अंगालोमा हाल्थे । बिचरी सरु । मेरो अंगालोमा कसिदै प्रेममा डुबिरहेकी हुन्छिन् । म भने मन भरी पारुको माया बोकेर सरुसँग सहकार्य गरिरहेको थिए ।

पारुले टेवुलको घण्टी बजाइन । लगत्तै अफिसका सहयोगी राम दाई हामी भएको रुममा आए । ‘एउटा इम्पोट्रेन्ट मिटिङ छ, एक घण्टाका लागि कसैलाई पनि भित्र नपठाउनु ।’ पारुको निर्देशन सुनेर राम दाई ‘हस् म्याम’ भन्दै कोठाबाट बाहिरिए । कोठामा पारु र म मात्रै थियौं । १२ वर्ष पछि पहिलो पटक पारु र मेरो भेट भएको थियो । कोठामा हामि नितान्त दुई जना मात्रै थियौं । एक घण्टासम्म कोही पनि कोठामा प्रवेश नगर्ने निश्चित थियो ।

पारु म भएको नजिक तिर आइन् । च्याप्प मेरो हात समाएर उनी भएको तिर तानिन् । अनि मेरो अंगालोमा आएर डाको छाडेर रुन थालिन् । शान्त कोठामा पारुको चित्कारसँगै म पनि भक्कानिए । हामी अंगालोमा निकै कसिएका थियौं ।

दुनियाको कुनै पनि शक्तिले हाम्रो अंगालोलाई फुकाउन सक्नेवाला थिएन । हामी एक अर्कामा हराइसकेका थियौं । पारुको अंगालोमा घुक्कघुक्क रुन पाउँदा म एउटा सानो बच्चा जस्तो भएको थिए । स्कुल जीवनबाट शुरु भएको हाम्रो आत्मिएता प्रेम हुँदै विवाहसम्मको तयारी थियो । हाम्रो प्रेमको बाधकको रुपमा हाम्रो परिवार र समाज थियो ।

हाम्रो समाजले पारु र मेरो सम्बन्धलाई स्वीकार गर्न सकेको थिएन । पारु एउटा व्राह्मण समुदायकी उच्च घरानाकी हिन्दु परिवारकी छोरी थिइन । म दलित परिवारको एउटा मुस्लिम । घरमा विहेको कुरा चल्दै गर्दा पारुले मलाई आफ्नो बनाउन पटक पटक आग्रह गरेकी थिइ । म पनि पारुलाई सबै चिज त्यागेर भए पनि आफ्नो बनाउन चाहन्थे ।

म गरिव परिवारको थिए । मैले पारुलाई खुसी दिन सक्दैन कि भन्ने मेरो मनमा थियो । म पारुको खुसी चाहन्थे । पारुको खुसीका लागि जे पनि गर्न तयार थिए । पारुले पटक पटक आग्रह गर्दा पनि मलाई भगाउन कत्ति पनि आँट आएन । साच्चि भन्ने हो भने पारुलाई भगाएर विवाह गर्न मसँग पैशा नै थिएन । केवल म सँग थियो त एउटा शरिर र निरिह मन । घरको ऋण तिर्न नसकेर बा दुई वर्ष देखि लाहुर हानिनुभएको थियो । पाँच दिदीबहिनि पछिको म एक्लो छोरा थिए ।

पारुको विहे गर्दा हाम्रो परिवारमा म भन्दा अगाडीका एउटी दिदीहरुको विहे गर्नुपर्ने थियो । मेरो र दिदीको पढाई पूरा गर्नुपर्ने थियो । पारुको विहेको कुरा चल्दा विस्तारै म उनीबाट टाढा भएको थिए । महलमा सुखका साथ बसेकी पारुलाई मेरो त्यो चुहिने खरले छाएको घरमा सुख दिन सक्दैन भन्ने मलाई गहिरोसँग परेको थियो ।

म पारुको सुख चाहन्थे । उसको खुसी चाहन्थे । उसलाई माग्न एक जना धनि परिवारको इञ्जिनियर केटा आएको कुरा सुनेपछि मेरो मनले उनीबाट टाढा हुने निधो गरिसकेको थियो । मैले पारुसँग आँफूले प्रेम नगरेको अभिनय गर्न थाले । उनको फोन नउठाउने । उनीसँग झर्केर कुरा गर्ने गर्न थाले । अन्तिमसम्म उनले म एक छाक खाएर भए पनि तिमीसँग बस्न चाहन्छु भनेकी थिइन । मैले पूरै वेवास्ता गर्न थालेपछि उनी पनि परिवारको दवावामा विहे गर्ने निष्कर्षमा पुगिछन् ।

विहेको अघिल्लो दिनको हाम्रो फेनमा कुरा भने भएको थियो । हामी घन्टौ कुरा ग¥यौं । उनको खुसीका लागि मैले यति अप्रिय निर्णय गरेको बताए । पारुको विहे फिक्स भइसकेको थियो । जनैसुपारी भइसकेको थियो । उनीहरुको धर्म संस्कारमा जनैसुपारीलाई निकै परिपक्व मानिदो रहेछ । उसको विहे भएको ६ महिनासम्म हाम्रो फोन भएको थिएन ।

६ महिना पछि उसले पहिले मलाई फोन गरेकी थिइ । त्यसपछि करीब डेढ वर्ष हाम्रो कुराकानि पनि भयो । तर, डेढ वर्ष पछि उसको बुढाले हाम्रो फोन भएको थाहा पाएछन् । पारुको फोन चेञ्ज भयो । नम्मर चेञ्ज भयो । मैले पनि उनको याद धेरै आउन थालेपछि नम्बर चेञ्ज गरेको थिए । अहिले पनि मेरो उक्त नं अफ नै छ ।

हामी अंगालोमा कसिएको पनि करीब १५ मिनेट जति भएको थियो । हामी केही बोल्न सकेका थिएनौं । खालि वर्षे झरी जस्तै दुबै जनाको आँखाबाट आँशुका भेलहरु मात्र बगेका थिए ।

एक्कासी गड्याङ्ग ढोका खुल्यो । मर्निङ वाकबाट फर्केर बुढीले घरको ढोका खोलेकी रहेछिन् । म निद्राबाट झसंग बिउझिए । सिरानीलाई चेपेर म रोएको देखेर बुढीले ‘किन विहानै रुन थाल्नुभयो ? के भयो ? ’ भनेर प्रश्न गरिन् । मसँग कुनै जवाफ थिएन ।

केही बेर अघिसम्म छुट्टै संसारमा रहेको म अहिले भने आफ्नै वेडमा एउटा सिरानीलाई कसिलोसँग चेपेर आँशु बगाइरहेको थिए । ‘ओ हो आज निकै खराब सपना देखे । मलाई बाघले चारिरहेको थियो । डरले चिच्याउँदै थिए । तिमी त मर्निङ वाक सकेर आइसके छिउ ।’ भनेर कुरा मिलाए । घडिले विहानको साढे ६ बजाई सकेको थियो ।

हतारहतार फ्रेस भए । मलाई पसल खोल्न हतार भइसकेको थियो । चिया पनि नपिएर वाइक स्ट्राट गरे । मन भरी पारुको कल्पना गर्दै पसल तिर लागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?