गोल गर्ने हतारो, लम्बिँदै छ गोलको खडेरी यात्रा

काठमाडाैं । नेपाली फुटबल टीम शनिबार बंगलादेशविरुद्ध भिड्दा स्वाभाविक रुपमा दबाबमा थियो।

त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा १० खेलाडीमा सीमित किर्गिस्तानको यु–२३ टिमसँग गोलरहित बराबरीपछि बढेको आलोचना मथ्थर पार्न पनि प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशविरुद्ध गोल गर्न चाहान्थे। तर सुरुवातबाटै गोल गर्ने हतारोमा देखिएको नेपाली टिम बल नियन्त्रणका बाबजुत विपक्षी फ्रेममा प्रहार गर्न पूर्णत असफल रह्यो।

तुलनात्मक रुपमा पहिलो खेलभन्दा बढी दर्शक र चिरपरिचित प्रतिद्विन्द्वी बंगलादेशविरुद्ध नेपाल सुरुवातमै गोल गर्ने प्रयासमा देखियो। ४४ सेकेन्डमै कर्नरको मौका पाएको नेपाल आक्रामक बन्यो तर उसको आक्रमण कुनै लयमा रहेन।

फर्वाडमा तालमेल अभाव र निरन्तर एट्याकिङको प्रयास विफल मात्र भएन, बंगलादेशले गोलका राम्रा अवसर खेर फाल्नु नेपाली टिमका लागि हारबाट जोगिने अवसर बन्यो।

पहिलो हाफमा आकर्षक मुभ बिनै खेल गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा केही सीमित फितला प्रहारहरु बंगलादेशी गोलरक्षकले समाउने अवसर पाए। तर नेपाली टिमले गोलका आकर्षक अवसर सिर्जना नै गर्न सकेन्। गोलरहित बराबरीमा सकिएको खेलमा नेपाल फाइनल त पुग्यो तर गोलविहीन यात्रा अन्त्य हुन भने सकेन।

हुन त नेपाली टिमको गोल गर्न नसकेको अहिलेको मात्र समस्या भने होइन। यसअघि २०१३ को सेप्टेम्बर देखि २०१५ को डिसेम्बरसम्म नेपाल ११ खेलमा गोलविहीन बन्यो।

त्यसो त नेपालले २०१८–०१९ मा पनि नेपाल ६ खेलसम्म गोल गर्न सकेन। अहिले पनि नेपालको गोलविहीन यात्रा ८ खेलसम्म पुगिसकेको छ। विश्वकप छनोटका दौरान चाइनिज ताइपेलाई २–० ले पराजित गरेयता ८ खेलमा नेपालले कुल १४ गोल खाँदा विपक्षी पोस्टमा भने शून्य छ।

पछिल्ला तीन खेलमा नेपालले लगातार गोलरहित बराबरी खेलेको छ। अब फाइनलमा बंगलादेशविरुद्ध जितभन्दा पनि कम्तीमा १ गोल गर्दै गोलको खडेरी टार्ने ध्याउनमा नेपाल हुनेछ। र स्वाभाविक रुपमा नेपालमाथि थप दबाब रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?