दाङका यातायात मजदुर आन्दोलित : चैत १७ देखि यातायात बन्द गर्ने चेतावनी

दाङ । दाङमा यातायात मजदुरहरु उचित पारिश्रमिक सहितका माग राख्दै आन्दोलित बनेका छन् । कोरोना महामारीपछि यातायात मजदुरहरु समस्यामा परेको भन्दै उनीहरुले उचित माग पुरा गर्न व्यवसायीलाई दुई दिने अल्टीमेटम दिएका छन् ।

सोमबारभित्र आफ्ना चारबुँदे माग पुरा नभए मंगलबार चैत्र १७ देखि सार्वजनिक ठप्प पार्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष केशबबहादुर भण्डारीले बताउनुभयो । यातायात मजदुरका पक्षमा कानुन बनेपनि कार्यान्वयन हुन नसकेकोले मजदुरहरु आन्दोलित हुनुपरेकोे उहाँले बताउनुभयो ।

मजदुर संगठनले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफ्ना चारबुँदै माग सार्वजनिक गरेको छ । यातायात मजदुर तथा बुकिङका कर्मचारीले लामो समयदेखि पाउन नसकेको तलब भत्ता पाउनुपर्ने, नेपाल सरकारले मजदुरहरुको पक्षमा लागु गरेको सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ र तीन वटै ट्रेड युनियन बिच भएको सहमती कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

संगठनका अध्यक्ष केशबबहादुर भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण संगठनका प्रेस सल्लाहकार लक्ष्मण विश्वकर्माले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?