दाङमा भोलीदेखी यातायात बन्द गर्ने घोषणा

दाङ । दाङका यातायात मजदुरहरुले विभिन्न माग राख्दै भोलीदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरहरुले विभिन्न माग राख्दै यात्रुबाहक सवारी साधन अनिश्चितकालका लागि ठप्प पार्ने बताएका हुन् ।

यातायात मजदुरसँग सम्बद्ध विभिन्न संघसंगठनहरुले हिजो तुलसीपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पहिलो चरणअन्तर्गत जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूणर् यातायात क्षेत्र अनिश्चितकालका लागि गर्ने मजदुरहरुले मजदुरहरुले चेतावनी दिएका छन् ।

यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातायात प्रालिहरुले लागु गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकता देखाउनुपर्ने, नेपाल सरकार, नेपाल यातायात राष्ट्रिय महासंघ, तीनवटै मजदुर ट्रेड युनियनबीच भएको संयुक्त बैठकले गरेको निणर्य कार्यान्वयन गर्नुपर्ने माग रहेका छन् ।

त्यसैगरी नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई समावेश गराउनुपर्ने माग राख्दै मजदुरहरुले बन्दको घोषणा गरेका हुन् ।

कोरोना महामारीका कारण लामो समयसम्म समस्यामा परेका यातायात मजदुरहरु पछिल्लो समय यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्यामा परेकाले आन्दोलित हुन बाध्य भएको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताउनुभयो ।

जिल्लामा चल्ने र जिल्लाबाट बाहिरिने कुनै पनि यात्रुबाहक सवारी साधन चल्न नदिने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?