बाघको आनिबानी अध्ययन गर्न बर्दिया निकुञ्जको बाघमा रेडियो कलर जडान

बर्दिया । बाघको आनीबानी थाहा पाउन बर्दिया राष्ट्रिय निकुञ्जको एउटा बाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। स्याटेलाइट कलरबाट बाघको आनीबानी‚ आवागमनलगायत अध्ययन गरिने निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।

निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले पाँच वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको हो। बर्दिया–बाँके कम्प्लेक्समा चारवटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाएअनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको थापाले बताए। बाघले शिकार गर्ने तरिका,  राजमार्गमा आवागमन गर्ने तरिका लगाएतका आनीबानी अध्ययन गर्ने निकुञ्जको तयारी छ।

‘जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचनाअनुसार फिल्ड अनुगमन गर्छौं‚’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘अध्ययनपछि बाघले मानवमाथि गर्ने आक्रमण कम गर्न अपनाउनुपर्ने उपायबारे जानकारी हुन्छ।’

बर्दिया निकुञ्ज बाघ संरक्षणका लागि उपयुक्त भए पनि पछिल्लो सयम मानव र बाघबीचको द्वन्द्वले समस्या सिर्जना गरिरहेको सरोकारवालाहरुले बताएका छन्। जसका कारण बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बढ्दो छ।

सोमबार मात्रै बर्दियामा बाघले एकजनालाई आक्रमण गरी घाइते बनाएको थियो। बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि निकुञ्जले यस वर्ष तीनवटा बाघ नियन्त्रणमा लिएको छ। विशेष गरी निकुञ्ज क्षेत्रमा बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढ्दो छ। निकुञ्ज तथा डिभिजन वन कार्यालयले स्थानीयलाई जंगल प्रवेश नगर्न आग्रह गरिरहँदा पनि स्थानीय अटेर गरी जंगल प्रवेश गर्दा घटना हुने गरेका छन्।

यस वर्ष मात्रै बाघको आक्रमणमा परी बर्दियामा नौजनाले ज्यान गुमाएको सहायक संरक्षण अधिकृत थापाले बताए। साढे दुई वर्षको अवधिमा भने बर्दिया–बाँके कम्प्लेक्समा १८ जनाले बाघको आक्रमणमा ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?