धार्मिक एवं पर्यटकिय गन्तव्यको पहिचान अम्बिकेश्वरी मन्दिर

  • चन्द्रप्रकाश नेपाली

दाङ । दाङको अम्बिकेश्वरी मन्दिर धार्मिक एवं पर्यटकिय गन्तव्यको रुपमा चिनिदै गएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १८ मा रहेको अम्बिकेश्वरीको मन्दिरमा दैनिक जसो दर्शनार्थि तथा भक्तजनहरुको चहलपहल रहने गर्छ । दाङ जिल्लाको केन्द्र घोराही बजारदेखि करीव १ दशमलव ५ किलोमिटर पूर्वमा मन्दिर अवस्थित छ ।

कुनै समयमा ३५० विगाहा गुठी रहेको यो मन्दिरसँग अहिले जम्मा २ जिगाहा ६ कठ्ठा १५ धुर जग्गा मात्र फैलिएको अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले जानकारी दिनुभयो ।

स्वस्थानी व्रतकथाका आधारमा भगवान शिवले सतीदेवीको शरीर बोकेर हिँड्दा उक्त स्थानमा सतीदेवीको दाहिने कान पतन भएको धार्मिक विश्वास छ । मन्दिरमा शुद्ध मनले पूजापाठ गरे इच्छा गरेको फल प्राप्त गरिने धार्मिक विश्वास रहेको छ ।

अम्विकेश्वरीको उत्पति र विकासको कथा पनि नेपाल र भारतका अन्य महत्वपूर्ण शक्तिपीठहरुकै समान रहेको छ । यी शक्तिपीठहरुको उत्पत्तिको सन्दर्भमा स्कन्द पुराणको कृदारखण्डको माघ महात्म्यमा बर्णित कथालाई मूल आधार मान्ने गरिन्छ ।

२०३० सालमा निर्माण भएको मन्दिरमा गरिने पूजा पद्धति पनि अन्य धार्मिक संस्थाहरुमा गरिने विधि अनुसार पाञ्चायायन देवताको पुजा गरिन्छ । नित्यपूजा र विशेष पर्व पूजा गरी यँहा गरिने अनुष्ठानलाई दुई समुहमा वर्गिकरण गर्नु पर्छ ।

नित्यपूजा प्रत्येक दिन विहान ५ बजेदेखि प्रारम्भ हुन्छ र मध्यान्हको एघार बजे स्थगन हुन्छ । सन्ध्याकालीन पूजा भने बेलुका ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुन्छ । बेलुका भजनकिर्तन पनि हुने गर्दछ । विशेष पर्व पूजा भने बर्षमा दुई पटक बडा दशै र चैते दशैमा नव दुर्गाको पूजा आराधना सँगै ब्राह्मन वरनी गरी नौ दिनसम्म दुर्गा सप्तसती र चाण्डीपाठ गरी सम्पन्न गरिन्छ । उक्त अबसरमा पञ्चवली दिने परम्परा पनि विद्यमान छ ।

अघिल्लो वर्षको माघमा जिल्लाकै प्रसिद्ध धार्मिक अम्बिकेश्वरी मन्दिरको पुनर्निर्माणको काम सकिएको हो । मन्दिरको स्वरूप नै परिवर्तन गरेर पहिलेको मन्दिरभन्दा अग्लो र ठूलो आकारमा नयाँ, आकर्षक र कलात्मक प्रविधिबाट मन्दिर निर्माण गरिएको हो ।

करिब सय वर्ष पुरानो मन्दिरको पुरातत्त्व विभागले दुई वर्षको अवधिमा नयाँ स्वरुपको मन्दिर निर्माण गरेको हो । पुरानो शैली र प्रविधिको प्रयोग गरेर ढुङ्गा, चुना, सुर्की र काठबाट मन्दिर निर्माण गरिएको हो ।

नयाँ स्वरूपमा निर्माण गरिएको मन्दिरमा पहिले जस्तो सिमेन्ट, गिट्टी, इँटा र छडको प्रयोग गरिएको छैन । नेपालको पुरानो सुर्की प्रविधिको माध्यमबाट प्यागोडा शैलीमा नयाँ मन्दिरको निर्माण गरिएको अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले जानकारी दिनुभयो ।

तीन करोड ६१ लख ५९ हजार ७ सय १३ रुपैयाँको लागतमा प्रकृतिरसानु सुवालरपवन जेभीले मन्दिरको पुनर्निर्माण गरेको हो । पहिलेको भन्दा ठूलो र अग्लो गरी नयाँ मन्दिर निर्माण गरिएकाले मन्दिरमा अब पूजापाठका लागि भक्तजन तथा दर्शनार्थीले पहिले जस्तो समस्या भोग्न नपर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

‘पुरानो मन्दिर सानो र साँघुरो हुँदा मन्दिरमा पूजापाठमा समस्या हुने गरेको थियो,’ अध्यक्ष पोख्रेलले भने, ‘अब नयाँ शैलीमा मन्दिर निर्माण गरेकाले भित्र पनि फराकिलो छ, पहिले जस्तो समस्या हुने छैन।’ उहाँका अनुसार नयाँ मन्दिर ढुङ्गा, चुना, सुर्की र काठको प्रयोग गरेर निर्माण गरिएको हो ।

मन्दिरको छानामा सुनको गजुर समेत राखिएको छ । पहिले २०३० सालमा पुरानो मन्दिर निर्माण गर्दा इँटा, ढुङ्गा, माटो, बालुवा र छडलगायतका वस्तुहरूको प्रयोग गरेर मन्दिर निर्माण गरिएको थियो । उहाँका अनुसार ३२ फिट उचाई रहेको नयाँ संरचनाको मन्दिर पहिलेको तुलनामा नयाँ मन्दिर भव्य, आकर्षक, कलात्मक देखिने गरेको छ ।

‘पहिलेको तुलनामा अहिलेको नयाँ मन्दिर निकै आकर्षण र बुट्टाका कारण कलात्मक बनेको छ’, उहाँले भन्नु भयो, ‘जसले गर्दा अम्विकेश्वरी मन्दिरको थप आकर्षण बढेको छ।’ मन्दिरभित्र रहेको देवीगर्भ भने पुरानै आकारमा पहिलेकै स्थानमा राखिएको छ ।

धार्मिक मान्यताअनुसार देवीगर्भलाई सार्न नमिल्ने भएका कारण पुरानै ठाउँमा राखिएको समेत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले बताउनु भयो ।

जिल्लामा लामो धार्मिक मान्यता बोकेको जिल्लाकै प्रसिद्ध मन्दिर २०३० सालमा निर्माण गरिएको थियो । त्यसभन्दा पहिले उक्त स्थानमा धमिराको देवल आकारमा सानो माटोको मन्दिर रहेको थियो । २०३० सालमा मन्दिर निर्माण सँगै तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मी शाहले मन्दिरको उद्घाटन गरेसँगै मन्दिर चर्चामा आएको अध्यक्ष पोख्रेल बताउनु भयो । मन्दिरको भित्री भाग साँघुरो, छाना चुहिने र पछिल्लो समय मन्दिर जीर्ण बन्दै गएपछि दुई वर्ष पहिले मन्दिरको पुनर्निर्माणको काम सक्ने सम्झौताअनुसार भत्काइएको थियो ।

यस मन्दिरमा हालसम्म देवीको मूल मन्दिर, धनेश्वर महादेव मन्दिर, गणेश मन्दिर, मन्दिर गरीसरको पश्मिी प्रवेशद्धार,नन्दरशवर शिव मन्दिर, धर्मशाला, रामजानकी मन्दिर, राधाकृष्ण मन्दिर, पूर्वको मूल प्रवेशद्धार, पश्चिमीको मूल प्रवेशद्धार, सरस्वती मन्दिर, कीर्तन भवन, पूर्वको मन्दिर प्रवेशद्धार, सुर्य स्तम्भका भौतिक संरचना रहेको मन्दिर व्यवस्थान समितिका अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?