बैतडीको सिगासमा भेटियो फलाम खानी, चीनको सहकार्यमा उत्खनन सुरु

बैतडी । सिगास गाउँपालिकामा फलाम खानी भेटिएको छ। गाउँपालिका–१ सुगरखालमा खानी भेटिएसँगै उत्खनन पनि सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

चैत्र ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ। उनले भने, ‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात् सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरु गरिएको छ।’

सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको धामीले जानकारी दिए। सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करिब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको बताएको छ। उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस लिएर काम सुरु भएको कम्पनीले जनाएको छ। चीनका विज्ञ टोली आएर खानी उत्खनन थालिएको अध्यक्ष धामीले बताए।

फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयहरुले रोजगारीसमेत पाउने अपेक्षा गरिएको छ। खानी भेटिएको स्थानमा ३३ केभी विद्युत प्रसारण लाइन पुर्‍याउनेलगायत काम पनि भइरहेका छन्। साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?