संसदको शून्य समय : प्रधानमन्त्री र गोकुल बास्कोटाको सुरक्षा चर्चा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गरे।

प्रधानमन्त्री ओलीले केही समयअघि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला आफूमाथि भौतिक आक्रमण हुन सक्नेतर्फ बडूले आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा वा नैतिक खतरा के हो? स्पष्ट पार्न माग गरे।

प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा सांसद बडूले प्रधानमन्त्रीको सुरक्षा खतराबारे जवाफ मागेका थिए। उनले गृह मन्त्रालयले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था कसरी मिलाइरहेको छ संसदमा जानकारी गराउन पनि माग गरे।

प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिएको भन्दै उनले सरकारले यसबारे जवाफ दिनैपर्ने बताएका हुन्।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले भारतसहित संसारभर फेरि कोरोना फैलिरहेको र त्यसअनुसार नेपालमा पनि संक्रमण बढ्ने देखिएको बताए।

सरकारले खोप उपलब्ध गराउने, पिसिआर परीक्षण, उपचार व्यवस्था, जमघट सभा घटाउन, क्वारेन्टाइन र आइसोलेसनको अवस्था र जनचेतना फैलाउन सरकारले के/कस्तो काम गरेको छ त्यसबारे जानकारी माग गरे। कोभिड संक्रमण रोकथामका लागि सर्वदलीय बैठकको समेत माग गरे।

कांग्रेस सांसद बालकृष्ण खाँडले गएको चैत्र १५ गते आइतबार बाग्लुङ र प्युठानको सीमामा अवस्थित बडिगाड गाउँपालिका–१० मा हिंसात्मक घटना भएको र उक्त आक्रमणपछि नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय नेता दीपक परियारको हत्या भएको र दर्जनौं मान्छे घाइते भएकोप्रति अविलम्ब छानबिन गरी अपराधीलाई कारबाही गर्नुपर्ने बताए।

कांग्रेस सांसद डिला संग्रौलाले विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको उल्लेख गर्दै दशौं हजार नेपाली स्वदेश फर्किसकेका र उनीहरुको पुनःस्थापनाका लागि सरकारले कुनै पहल नगरेको बताइन्।

कोरिया भाषा परीक्षा उत्तीर्ण गरी बसेका श्रमिक कोरिया जान नपाएर अन्योलमा परेका र उनीहरूको अवस्थाबारे संग्राैलाले सरकारलाई जानकारी गराइन्। उनले सरकारलाई कोरिया सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरिन्।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले सरकारले भ्रष्ट्राचारीको संरक्षणमा सुरक्षाकर्मी खटाएको आरोप लगाए। भ्रष्ट्राचारी प्रकरणमा राजीनामा समेत दिएका पूर्वसञ्चारमन्त्रीलाई गृह मन्त्रालयले सम्मानस्वरुप ‘बाइवान गेट टु’ उपहारस्वरुप दुई जना सेटसहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाए। यसबाट भ्रष्टाचारीलाई सुरक्षा दिने नीति सरकारले लिएको स्पष्ट हुने बताए।

कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले बझाङ साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालयदेखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाऊँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका विकट क्षेत्रमा खान नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बझाङका जनताले चामल खान पाउने की नपाउने भन्दै प्रश्नसमेत गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद पूर्णकुमारी सुवेदीले विस्तृत शान्ति सम्झौताका कामहरु पूरा हुन किन ढिलाइ भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराए।

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका कामबारे जानकारी माग गरे। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अहिलेसम्म कार्यप्रगतिबारे समेत जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारको उदासीनताका कारण प्रतिनिधि सभा शून्य समय भएको बताए। यस्तै सरकारले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखीकरण २०७७’ भन्ने गोप्य समिति बनाएको पाइएको र यो भनेको के हो र किन बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद दलबहादुर रानाले नेपाल सरकारले छिटो छरितो माध्यमबाट पुल निर्माण कार्य सम्पन्न गरी जनतालाई सेवा सुविधा दिन ध्यानाकर्षण गराए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माण भइरहेका १७ सय ९३ वटा पुलमध्ये पुलको निश्चित लम्बाइभन्दा माथिका, केन्द्रीय सडक योजनाभित्र परेका र निर्माण कार्य सुरु भइसकेकाबाहेक सबै पुल स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गर्न माग गरे।

नेकपा एमालेका सांसद नवराज सिलवालले जेनेभा स्थित इन्टर पार्लामेन्ट युनियनले नेपालका अधिकांश सांसद सार्वजनिक यातायातमा संसद पुग्ने गरेका र कुनै कार्यालय राख्न नसकेको तर पनि राम्रो काम गरेको उल्लेख गरी रिपोर्ट सार्वजनिक गरेको बताए।

नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनीबेंसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो ऐक्यबद्धता रहेको बताए। स्थानीयका माग पूरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग गरे।

नेकपा एमालेकी सांसद पार्वती कुमारी बिशुन्केले दैलेख जिल्लाकी आठबीस नगरपालिका वडा नं. ३ की ३५ वर्षीय गर्भवती सुकु बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा सामूहिक आत्महत्या गरेको जानकारी गराउँदै यस्ता घटना न्यूनीकरणका लागि माग गरिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?