दाङकाे गढवा गाउँपालिका हात्तिपाईले रोगको उच्च जोखिममा

दाङ । दाङका दश स्थानीय तहमध्ये गढवा गाउँपालिका हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाईएको छ । राष्ट्रिय हात्तिपाईले कार्यक्रम प्रिभ्यालेन्स सर्भेको प्रारम्भिक तथ्याङक अनुसार जिल्लाका विभिन्न पालिकाका पाँचसय ४२ जनामा गरिएको नमुना परिक्षणमा ६.२२ प्रतिशत अर्थात एकसय ५८ जनामा यो रोगको संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा धेरै संक्रमण गढवा गाउँपालिकामा देखिएको छ । गढवाका तीनसय ३० जनामा गरिएको सर्वेक्षणमा ६८ जना अर्थात १८.७९ प्रतिशतमा यो रोगको संक्रमण देखिएको हो ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको हाडिमेमा गरिएको सर्वेक्षणमा २.६ प्रतिशत, टरिगाउँमा २.४८ प्रतिशतमा यो रोगको संक्रमण देखिएको हो । यस्तै लमहीका ५.२९ प्रतिशतमा पनि हात्तिपाईले रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताउनुभयो ।

राप्ती गाउँपालिकाको सिसहनीयामा गरिएको सर्वेक्षणमा ९.१ प्रतिशत, घोराही उपमहानगरपालिकाको नारायणपुरमा गरिएको सर्वेक्षणमा ३.६ प्रतिशत, वाहुनडाँडामा १.६२ प्रतिशत र रामपुरमा ५.७९ प्रतिशतमा हात्तिपाईले रोगको संक्रमण देखिएको प्रिटासको तथ्याङक छ ।

जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि निरन्तर ११ वर्षदेखि खुवाउने अभियान संचालन भएपनि सबै मानिसहरुले औषधि सेवन नगर्दा संक्रमणदर कम हुन नसकेको हो । जिल्लामा फेरी २० गते पर्सिदेखि हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गराउने अभियान संचालन हुन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?