आजदेखि काठमाडौंसहित यि २५ सहरका शिक्षण संस्था बन्द

काठमाडौं । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि मंगलबार देखि काठमाडौ लगायत देशका २५ सहरका शिक्षण संस्था बन्द गरिएका छन्। सोमवार बसेको मन्त्रीपरिषदको बैठकले गरेको निर्णय अनुसार २५ शहरका शिक्षण संस्था बन्द गरिएका हुन् । १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था यही वैशाखभरका लागि बन्द गरिएका हुन्। कोरोनाको चेन ब्रेक गर्नुपर्ने भएकाले ति जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सिफारिसअनुसार सरकारले कोरोनाबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको हो। रात्रिकालिन ब्यवसाय बन्द गर्ने सरकारको निर्णय केही दोहोरी सांझ संचालन गर्ने रात्रिकालिन ब्यवसायीले विरोध गरेका छन् । उनीहरुले स्वास्थयका मापदण्ड पालना गर्दै ब्यवसाय संचालन गर्न पाउनुपर्ने बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजदेखि काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका हुन्।

मन्त्री गुरुङका अनुसार अब २५ सहरी क्षेत्रमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन्। विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएसँगै संक्रमण दर बढ्दै गएको छ। दिनहुँ मृत्यु हुनेहरुको संख्याको दर पनि उकालो लाग्दो छ । नयाँ भेरिएन्ट अघिल्लो पटकको कोरोना भन्दा जोखिम भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ७० प्रतिशत बढी संक्रामक भएकाले सचेत हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?