त्रिदेशीय टी–२० सिरिज : खारिएको ब्याटिङले देखाएको नेपालको आशा

काठमाडाैं । नेपाली क्रिकेट टिमले लामो समयपछि खेलेको अन्तर्राष्ट्रिय सिरिजमा स्वाभाविक रूपमा धेरै प्रश्नहरू थिए।

कोरोनाका कारण लामो लकडाउनपछि क्यानले गर्न लागेको ठूलो प्रतियोगिता, दर्शकको उपस्थिति, नेपाली खेलाडीको प्रदर्शन र क्यानको आतिथ्यता कस्तो रहला भन्ने प्रश्न सतहमा थिए।

यसमध्ये पनि नयाँ प्रशिक्षकले चयन गर्ने नेपाली टिमको लक्ष्य र प्रदर्शन र संधैको ब्याटिङ समस्या सबैको नजरमा थियो। प्रतियोगिताको अन्त्य अघिसम्म खेलेका चार खेलमा नेपालले अपेक्षाभन्दा उच्च स्तरको प्रदर्शन गर्यो। समग्रमा नेपाली क्रिकेट लामो समयको लकडाउनका बाबजुत ट्रयाकमा रहेको सन्देश दिन सफल भएको छ।

ब्याटिङमा छाएका कुशल

प्रतियोगिताको समूह चरणका चार खेलसम्म कुशल सर्वाधिक धैरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन्। उनले ४ खेलको ४ इनिङमा ओपनिङ गर्दै ६७ को औसतमा २०१ रन बनाएका छन्।

जहाँ उनले लगातार तीन अर्द्धशतकको विश्व रेकर्ड बनाउँदा कुल १६ चौका र १३ छक्का प्रहार गरे। प्रतियोगितामा दोस्रो सर्वाधिक रन नेदरल्यान्डका म्याक्स ओडोउडको नाममा छ।

उनले कुल १५२ रन बनाउँदा सर्वाधिक १३३ रनको इनिङ खेलेका थिए। तर कन्सिस्टेन्ट ब्याटिङ फेरि पनि कुशलकै नाममा छ। त्यसो त तेस्रो नम्बरमा नेपालकै आसिफ शेखको नाममा छ। उनले पनि १३८ रन बनाइसकेका छन्। नेपालको ओपनिङ साझेदारीमा उनले कुशलसँग लोभलाग्दो सुरुवात दिए।

टिमले दिएको सर्वाधिक स्कोरमा पनि नेपालले २१७ रनको टार्गेट मलेसियाविरुद्ध दिएको थियो। नेदरल्यान्डले पनि नेपाललाई समूह चरणमा पराजित गर्नै क्रममा २०९ रन बनाएको थियो।

सन्दीप सर्वाधिक विकेट टेक्कर

​जारी प्रतियोगितामा नेपालको उत्कृष्ट ब्याटिङ गर्दा यो पटक बलिङ छायामा पर्‍यो। नेदरल्यान्डविरुद्ध २०६ रनको टार्गेट रक्षा गर्न नसक्दा नेपाली बलरहरूको आलोचना पनि भएको थियो।

यद्यपि चार खेलको समाप्तिमा बलिङतर्फ नेपालका सन्दीप लामिछाने नै शीर्ष स्थानमा छ। उनले ८ दशमलव ६५ को इकोनोमीमा ११ विकेट हात पारे। दोस्रो नम्बरमा नेपालकै सोमपाल कामी छन्। उनले ५ विकेट लिए। समग्रमा नेपालको बलिङ लाइन–अप पनि विकेट मामिलामा शीर्ष स्थानम नै छ।

फाइनलमा अपेक्षा

समग्रमा नेपाल समूह विजेताका रुपमा फाइनलमा पुग्दा नेदरल्यान्ड बलियो विपक्षीका रुपमा छ। समूह चरणको पहिलो खेलमा जितेको नेपालविरुद्ध दोस्रो खेलमा नेदरल्यान्डले आकर्षक इनिङ खेल्दै जित हात पार्‍यो। यसले पनि नेदरल्याण्डको मनोबल उच्च छ। जसले पनि फाइनलमा नेदरल्याण्ड बलियो हुन सक्ने अनुमान गर्न सकिन्छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =