गण्डकी सभामा दुई सांसद मतदान हुने बैठकमा गएनन्, मोबाइल अफ गरेर भूमिगत भएपछि, खोज्न गएका कांग्रेस सांसद रित्तै हात फर्किए

पाेखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु हुनै लाग्दा दुई जना सांसद सम्पर्कविहीन भएका छन्। उनीहरु मतदानको समय सम्म आइपुगेनन् भने मुख्यमन्त्रीको पद जोगिने छ ।

उनीहरुले फोन समेत अफ गरेका छन् भने खोज्न गएकाहरुले समेत उनीहरुलाई फेला पार्न सकेका छैनन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमबीक्रम शाही र स्वतन्त्र सांसद दिपक मनाङेप्रदेश सभा बैठकमा नै अनुपस्थित भएका हुन्। मनाङे आफै मुख्यमन्त्री बन्ने दौडमा थिए ।

उनले आफु मुख्यमन्त्री बन्न साना दलसंग समन्वय गरिरहेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको प्रस्ताव पास हुन ३१ मत आवश्यक हुन्छ।

राजमोका ३ सांसद अविश्वासको प्रस्तावमा सहमत हुँदा मात्र प्रस्ताव पास हुनसक्छ।

कांग्रेस(माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन उनीहरुले फोन पनि स्वीचअफ गरेर सम्पर्क विहिन भएपछि विश्वास प्रस्तावका पक्षधरहरु सशंकित बनेका छन् ।

स्रोतका अनुसार कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामाले गाडी लिएर शाहीलाई खोज्न गएका थिए । तर उनीहरु फेला नपरेपछि रित्तै फर्किएका छन् ।

अविश्वास प्रस्तावका पक्षधरले जनमोर्चाको समर्थनको आशा गरेर प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?