कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

पाेखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभामा निर्णयार्थ पेश हुने दिन अकस्मात अवस्था अज्ञात भएको भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेहोस भएर अस्पतालको आईसीयूमा भर्ना भएको खुलासा भएको छ ।

सांसद शाहीका स्वकीय सचिव मिलन हमालले आज बुधवार दिउँसो १२ बजे अचानक बेहोस भएपछि सांसद शाहीलाई अस्पताल भर्ना गरिएको जानकारी दिए । हमालले कुन अस्पतालमा भर्ना गरिएको भन्नेबारे खुलाएनन् ।

स्वकीय सचिव हमालले भने, ‘उहाँ दिउँसो १२ बजे अचानक बेहोस हुनुभयो । अहिले अस्पतामा उपचार भइरहेको छ । ठाउँ र अस्पतालको नाम भन्न मिल्दैन ।’

पोखरामा उपचार सम्भव नभए चितवनतिर समेत लैजानुपर्ने हुनसक्ने हमालले जानकारी दिए ।

यसअघि जनमोर्चाकी गण्डकी प्रदेशसभा सचेतक पियारी थापाले शाहीको अवस्था अज्ञात रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । हिजो मंगलवारसम्म सकुशल रहेका सांसद शाहीको अवस्था अज्ञात रहेको र मत विभाजन हुनै लागेका बेला अज्ञात हुनुलाई शंकास्पद रूपमा हेरिएको छ ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको अवस्थामा मुख्यमन्त्री गुरुङको सरकार ढल्ने निश्चित हुँदा शाही सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?