कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

काठमाडौं । रुपन्देही र मोरङमा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन्। बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताए।

त्यस्तै, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए। यस्तै मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको आजै बिहान ३ बजे मृत्यु भएको छ।

यसै गरी मोरङमा दुईजना संक्रमितको मृत्यु भएको छ। ति मध्ये एक पुरुष एक महिला छन्। झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको बिहीबार बिहान ६ बजेतिर विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जनाकारी दिए।

त्यस्तै उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा पुर्‍याउनासाथ कोरोना संक्रमित एक जना वृद्धा महिलाको मृत्यु भएको छ।

सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति साढे १० बजे मृत्यु भएको विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?