लुक्ला विमानस्थल, २ हजार ६ सय ५० डलरमा किनिएको भिरालो बारी

वि.सं २०२८ सालबाट नियमित उडान हुन थालेको लुक्लाबजारको दायाँपट्टी अवस्थित विमानस्थललाई प्रथमपटक सर्वोच्च शिखरको शिर चुम्न सफल भएका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्मानमा वि. सं. २०६४ पुसमा तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरियो ।

संसारभरका विमानस्थलमध्ये रोमाञ्चक अनुभूति दिने विमानस्थलको सुचीमा यो आठौँ स्थानमा पर्ने बताइन्छ । विमान चालकहरूका अनुभवलाई सुन्ने हो भने रन वे सकिना साथ सय मिटर अग्लो ढुंगाको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । जहाँ गल्तीका लागि कुनै छुट छैन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटर छ जुन अरू विमानस्थल भन्दा छोटो हो । छोटो धावनमार्ग भएकाले त्यहाँ ’ओभरशूट’ सम्भव छैन् । एकछेउमा सातसय मिटर अग्लो भीर पनि भएकाले यो विमानस्थललाई संसारकै अति डरलाग्दो विमानस्थलमध्ये एक मानिन्छ ।

वर्षेनी हजारौँ पर्यटकहरू लुक्ला हुँदै सगरमाथाको आधार शिविरतिर जान्छन् । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि एकमात्र यातायातको विकल्प भनेको विमान हो । पदयात्रीहरू प्रायः लुक्लाबाट हिँड्न थाल्ने हुँदा वसन्त ऋतुमा त्यहाँ हवाई चाप बढी हुने गर्छ । पछिल्ला वर्षमा त्यहाँ दैनिक एक सयभन्दा बढि उडान हुन थालेका छन् ।

सर्वोच्च शिखर विजयी एडमण्ड हिलारीको अग्रसरतामा सगरमाथा क्षेत्रको सामिप्यतामा विमानस्थल निर्माणका लागि भएका थुप्रै सम्भाव्यता अध्ययनपछि लुक्लामा विमानस्थल बनाउने कार्य वि.सं २०२१ सालमा थालनी भएको हो । विमानस्थल भएको हालको स्थान स्थानीय शेर्पा समुदायको खेती किसानी गर्ने बारी थियो तसर्थ उनीहरू आफ्नो उब्जनीयोग्य जमिन विमानस्थलका लागि दिन तयार भएनन् अन्ततः हिलारीले तत्कालीन समयमा २ हजार ६ सय ५० डलरमा उक्त भिरालो बारी खरिद गरि ती नै जग्गाधनीहरूलाई विमानस्थल बनाउने काममा लगाउने गरि खरिद गरे ।

भिरालो जमिनलाई सम्याउन प्रतिकुल भौगोलिक अवस्थितिका कारण कुनै उपकरण लुक्ला पुर्याउन असम्भव भएको सन्दर्भमा उक्त जमिन सम्याउन हिलारीले नयाँ उपाय फुराए । स्थानीय शेर्पाहरूलाई मदिरा खुवाएर उक्त भिरालो जमिनलाई समतल बनाउने ध्येयले हिलारीले शेर्पाहरूलाई प्रस्तावित विमानस्थलको जमिनमा नचाउन थाले भने कतिपयलाई लठ्ठाहरूको सहयताले तान्न लगाए (तस्वीर हेरौं) । ठुल्ठुला काठका मुढाहरू घिसार्दै मैदान सम्याउने क्रम पछिसम्मै रह्यो ।

देशका अत्यधिक चाप भएका विमानस्थल मध्येको एक यस विमानस्थलको रन वे लामो समय घाँसे मैदान जस्तै थियो भने वि.सं २०५८ सालमा कालोपत्रे गरियो ।

बढ्दो हवाई चापलाई व्यवस्थापन गर्नका लागि नेपाल सरकारले हाल लुक्ला विमानस्थल क्षेत्रमा कम्तीमा ५ वटा नयाँ हेलिप्याड बनाउने तथा रन वे को स्तरोन्नतिको कार्य गरिरहेको छ जुन सन् २०२० को अन्तसम्म लक्ष्य राखिएकोमा उक्त अवधिमा कामले मुर्तरूप लिन सकेको छैन् । यस विमानस्थलमा सन् १९७३ देखि हालसम्म सानाठुला गरि कम्तीमा १ दर्जन दुर्घटना हुँदा थुप्रै स्वदेशी तथा विदेशी नागरिकले अकालमा ज्यान गुमाएका छन् कैंयन् अंगभंग भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?