उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’

काठमाडौं । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियन्ता तथा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले उप–प्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गर्दै रंगशालाको निर्माणमा भोगेको पीडा सुनाएका छन् ।

उनले आफूहरु टुहुरो जस्तै भएको बेला सरकारले चासो दिएपछि बल्ल सरकार भएको अनुभव गरेको बताएका छन् ।

‘म राज्यलाई सघाउने अभियन्ता हुँ । टुहुराजस्तो भएको बेला आफैंले बोलाएर तपाईंले चासो लिनुभएकोमा धन्यवाद’, उप–प्रधानमन्त्रीसँग कट्टेलले भने, ‘बल्ल सरकार र राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं ।’

उप–प्रधानमन्त्री पोखरेलले धुर्मुस–सुन्तली जोडीले अनुकरणीय काम गरेकाले काममा आउने चुनौती र त्यसमा उठेका प्रश्नको जवाफ कामले दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर रंगशालाका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने खुलाए ।

सीतारामले अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए । रकमको जोहो भएमा धेरैमा एक वर्षसम्म रंगशाला तयार हुने बताए ।

साभार-खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?