राेल्पामा युद्धको उपहार !

राेल्पा । रोल्पामा युद्ध पर्यटनको सम्भावना प्रशस्त देखिएको छ । जनयुद्धको उद्गमस्थल रोल्पा, रुकुमलाई युद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्न थालिएको छ । जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढा युद्ध पर्यटनका रूपमा विभिन्न स्थानमा संरचना निर्माण सुरु भएको बताउँछन् । रोल्पा युद्धसँग प्रत्यक्ष जोडिएकाले यहाँका अधिकांश स्थानमा युद्ध पर्यटनको सम्भावना छ ।

नेकपा माओवादीले २०५२ फागुन १ गते होलेरीस्थित प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र विद्रोह सुरु गरेको घोषणा गरेको थियो । सशस्त्र द्वन्द्वको उद्गमस्थल थबाङ, युद्धमा तालिम शिविरका रूपमा प्रयोग गरिएको जलजला, घर्तीगाउँ, भावाङको घामतारा, माओवादी लडाकुले नेपाली सेनामाथि आक्रमण गरी कब्जा गरेको गाम युद्ध पर्यटनको आकर्षक गन्तव्य हुन् । त्यस्तै कैयौं मानिसको ज्यान जाने गरी दोहोरो भिडन्तका नाममा सामूहिक हत्याकाण्ड भएको स्थल भावाङ, गुम्चाल, हार्जङ र माओवादी लडाकूको पहिलो ध्वस्त तालिम केन्द्र सुकी दहलगायतका स्थानमा युद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्न सकिने स्थान हुन् ।

द्वन्द्वकालीन समयका शहीद स्मृति आवासीय जनवादी स्कुल, जनकम्युन, जनसहकारीलगायत संरचना पनि युद्ध पर्यटनका आकर्षक केन्द्र हुन् । तर ती संरचना नाश भइसकेका छन् । शान्ति प्रक्रियापछि माओवादी लडाकूको पाँचौं डिभिजन बसेको दहवन, उघा, तिलालगायतका ठाउँलाई पनि युद्ध पर्यटनको रूपमा विकास गर्न सकिने सम्भावना छ । उनले युद्ध पर्यटनमात्र नभई धार्मिक र प्राकृतिक पर्यटनलाई पनि सँगसँगै लैजान सक्नुपर्ने बताए । ‘तीनै क्षेत्रलाई समेट्न सके रोल्पा पर्यटनको केन्द्र बन्न सक्छ’, उनले भने । सिद्धपुजेले भावाङमा मन्दिर निर्माण अभियान थालेको छ । मन्दिरको केही माथि रहेको घामतारा तालिम केन्द्रलाई समेत समेटेर युद्ध र धार्मिक पर्यटनलाई एकै थलोको रूपमा विकास गर्न थालिएको केसी बताउँछन् ।

जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढा जनयुद्धसँग सम्बन्धित क्षेत्रलाई संरक्षण गर्ने र युद्ध पर्यटन केन्द्रको रूपमा विकास गर्ने योजना बनेको बताउँछन् । ‘युद्ध पर्यटनको रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिन्छ’, उनी भन्छन्, ‘यसले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’ सम्भावित युद्ध पर्यटनका साथै धार्मिक र प्राकृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यस्थलको विकास गर्न स्थानीय तहहरूले प्राथमिकता दिएका छन् ।


प्रचण्ड बसेको घरमुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने, नजिकैको डाँडालाई पिकनिक स्थलका रूपमा विकास गर्ने र घरको प्रांगणमा ढुंगा बिछ्याउने काम भइरहेको छ ।


घरनजिकै हेलिप्याड निर्माण गर्न लागिएको छ । रोल्पालाई युद्ध पर्यटनको रूपमा विकास गर्न स्थानीय तहले मात्रै सम्भव नभएकाले प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय भइरहेको छ । त्रिवेणी गाउँपालिकाको टिलामा र थवाङमा युद्ध संग्रहालय बनाइएको छ । रोल्पा नगरपालिकामा शहीद स्मारक र रक गार्डेन पनि बनाइएको छ । रोल्पामै भ्यू–टावर पनि निर्माण भएको छ । जलजला पर्यटन क्षेत्रलाई धार्मिक, प्राकृतिकका साथै युद्ध पर्यटनको रूपमा अघि बढाउन लागिएको छ ।

‘युद्ध पर्यटनलाई द्रुतगतिमा अघि बढाउन खोजिरहेका छौं’, बुढा भन्छन्, ‘सबै तहका सरकारको समन्वयमा मात्र युद्ध पर्यटन अघि बढाउन सकिन्छ ।’ आगामी वर्षमा पनि निरन्तरता दिने, संग्रहालय डेकुरेसन गर्दै, युद्धसँग सम्बन्धित सामान, परेड खेलेका साधन नमुनाका रूपमा राख्ने काम छिट्टै गर्ने योजना बनाएको छ । माडी गाउँपालिका ५ भावाङका वडाअध्यक्ष भरत बुढा पनि भावाङ युद्धसँग प्रत्यक्ष जोडिएकाले युद्ध पर्यटनको रूपमा विकास गर्न लागिएको बताउँछन् । २०५७ सालमा भावाङको बाग्मामा नेपाली सेनाले माओवादी समर्थित ११ जना कलाकारकोे सामूहिक हत्या गरेको थियो । द्वन्द्वकालमा भावाङमा धेरैपटक भिडन्त भएको थियो । भिडन्तमा धेरै जनाको हत्या गरिएको थियो ।

तत्कालीन समयमा भावाङकै घामतारालाई माओवादीले तालिम केन्द्रको रूपमा विकास गरेको थियो । वडाध्यक्ष बुढा भावाङलाई युद्ध पर्यटनको रूपमा विकास गर्न पहिलो प्राथमिकता दिएको बताउँछन् । ‘द्वन्द्वकालमा भावाङबाटै जनसरकार सुरु गरिएको थियो’, भन्छन्, ‘द्वन्द्वका इतिहास झल्किने गरी संरचना र पर्यटकीय गन्तव्य बनाउन खोजिरहेका छौं ।’ माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुन पनि युद्ध पर्यटनको रूपमा आक्रमक ढंगले अघि नबढे पनि बिस्तारै संरचना बनाउन थालिएको बताउँछन् । माडी ५ को पुलावाङ र माडी ६ को बराह ताल युद्ध पर्यटनको रूपमा अघि बढाइएको छ । सम्भावित ठाउँ खोजेर आगामी दिनमा पनि युद्ध पर्यटन बनाउन सकिने देखिएको छ ।

तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण ठाउँलाई अहिले शहीद स्मारक बनाइएको छ । रुन्टीगदी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाका अनुसार गाउँपालिकाभित्र युद्ध पर्यटनका धेरै सम्भावना छ । यस गाउँपालिकाका सबै क्षेत्रलाई युद्ध पर्यटनको रूपमा समेट्न अध्ययन भइरहेको छ । सम्भावित क्षेत्रको अध्ययन गरी डीपीआर बनाइँदैछ ।

लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा भने पर्यटनको खासै सम्भावना नरहे पनि बराह चउर पुरानो एयरपोर्टमा मेला लाग्ने भएकाले संरक्षण र प्रवद्र्धनमा ध्यान दिइएको बताउँछन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तिकुमार वली तत्कालीन गैरीगाउँ गाविस ७ टिलामा शहीद स्मारक हल बनाइ तारबार गरिएको बताउँछन् । युद्ध सामग्रीहरू हतियार, पोशाक राख्ने, बंकरको काम बाँकी छन् ।
प्रदेश सरकारअन्तर्गत डिभिजन वनमार्फत काम भइरहेकाले गाउँपालिकाले आवश्यक समन्वय मात्रै गरिरहेको छ । ‘युद्ध पर्यटनको रूपमा अन्य धेरै ठाउँमा पनि सम्भावना छन्’ भन्छन्, ‘मुख्य कुरा बजेट हो, बजेट अभावमा सोचेजस्तो काम गर्न सकिएको छैन ।’ परिवर्तन गाउँपालिका २ डाँडागाउँँमा जनयुद्धताका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपराष्ट्र«पति नन्दबहादुर पुन पासाङ बसेको घरलाई युद्ध पर्यटन केन्द्रको रूपमा घोषणा गरिएको छ । केन्द्रका अध्यक्ष लालबहादुर घर्तीका अनुसार केन्द्रमा पर्यटक आउने क्रम सुरु भएको छ ।
घर्तीको घरमा प्रचण्ड ११ महिना भूमिगत रूपमा बसेका थिए । त्यहाँ लामो सुरुङ पनि निर्माण भएको छ । तत्कालीन समयमा प्रचण्ड बसेको घर थाहा पाएर सेनाले हेलिकोप्टरबाट बम खसाउँदा एउटा घर पूर्णरूपमा क्षति हुन पुगेको थियो । बचेको अर्को घरलाई युद्धको केन्द्रका रूपमा विकास गर्न लागिएको छ । प्रचण्ड बसेको घर र आसपास क्षेत्रलाई समेटेर युद्ध पर्यटन केन्द्रको रूपमा विकास गरिए पनि स्थानीय तहले त्यसको प्रवद्र्धनका लागि खासै चासो देखाउन सकेको छैन । सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि रोल्पा वार्ताका लागि एमाले नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीले प्रचण्डलाई भेट्न सोही घरमा पुगेका थिए ।

युद्ध पर्यटन केन्द्रका प्रमुख घर्तीका अनुसार प्रचण्डले त्यतिबेला प्रयोग गरेका खाट, खाना पकाउने र खाने भाँडा, कपडा, त्यहाँ बसेर लेखिएका दस्तावेज सबै युद्ध पर्यटन केन्द्रमा राखिएका छन् । इतिहासको अध्ययन गर्नेका लागि उक्त केन्द्र उपयुक्त स्थान हुने उनी बताउँछन् । व्यक्तिका रूपमा नभई जनयुद्धका प्रतीकका रूपमा चिनाउन प्रचण्ड बसेको घर आसपासलाई समेटेर युद्ध पर्यटन केन्द्र घोषणा गरिएको माओवादी नेताहरू बताउँछन् ।

प्रचण्ड बसेको घरमुनि रहेको ७० मिटर लामो सुरुङलाई आधुनिकीकरण गर्ने, नजिकैको डाँडालाई पिकनिक स्थलका रूपमा विकास गर्ने र घरको प्रांगणमा ढुंगा बिछ्याउने काम भइरहेको छ । घरनजिकै हेलिप्याड निर्माण गर्न लागिएको छ । जीर्ण अवस्थाको घर भत्किनबाट जोगाउन चारैतिर फलामले टेको दिएर जस्ताको छानो लगाइको छ । प्रचण्ड स्थानीय लालबहादुर घर्तीको घरमा ०६१ वैशाखदेखि २०६१ फागुन ३ गतेसम्म पत्नी सीता र छोरा प्रकाशसहित बसेका थिए । उक्त घरलाई युद्ध पर्यटनको रूपमा विकास गर्ने भनिएपछि घर्तीले समितिलाई घर बेचेका थिए ।

सशस्त्र द्वन्द्वको उद्गम स्थल मानिने थबाङलाई माओवादी विद्रोहको केन्द्र मानिन्छ । थवाङ विभिन्न कारणले चर्चामै रह्यो । युद्वकालमा यो गाउँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको थियो । थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती थबाङ आफैंमा युद्ध पर्यटनको रूपमा रहेको बताउँछन् । ‘थबाङ ऐतिहासिक स्थल हो’, भन्छन्, ‘युद्धसँग थबाङको गहिरो साइनो जोडिएको छ ।’ थवाङ गाउँ र जलजला पहाडलाई एकीकृत रूपले विकास गर्न थालिएको छ । जलजला नेपालका प्रमुख सय गन्तव्यमा पनि परेको छ । थवाङमा शहीद स्मृति वाटिका (शहीद पार्क), शहीद स्मारक तथा संग्रहालय बनाइएको छ ।
प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा युद्ध पर्यटनको रूपमा अघि बढाइएको छ । थबाङले लामो समय संघर्ष गरेकाले द्वन्द्वकालीन इतिहास बिर्सन नसकिने खालको भएकाले सिंगो थबाङ युद्ध पर्यटन केन्द्र र जलजलालाई धार्मिक तथा युद्ध पर्यटनको रूपमा अघि बढाउन खोजिएको छ । प्रदेश सरकारको दायित्वमा निर्माण भएको भवनमा औजार राख्ने र थप व्यवस्थित गर्ने योजना बनाइएको छ ।

रोल्पा, रुकुम युद्ध पर्यटनको सम्भावना रहे पनि पछिल्लो समयमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले प्रभावित भएको छ । कोभिडले देशको पर्यटन क्षेत्र ध्वस्त भएको बेला युद्ध पर्यटन शिथिल हुन पुगेका स्थानीय तहका पदाधिकारी बताउँछन् । परिवर्तन गाउँपालिकाको राल्बाङ मन्दिर, बाइसे, चौबिसे राज्यको समयमा स्थापित राज्य खुंग्रिकोट, गजुलकोट, सुनछहारी, बिवाङ दह, रुन्टी, गढीलेक, शिवगुफालगायत पनि आकर्षक गन्तव्य हुन् । सबै स्थानमा विदेशी पर्यटक भित्र्याउन नसकिए पनि आन्तरिक पर्यटनमा जोड दिन सके रोल्पाले पर्यटनमा फड्को मार्न सक्ने रोल्पाका बुद्धिजीवी गिरीराज उपाध्याय बताउँछन् । ‘रोल्पा पर्यटनको अथाह सम्भावना छ’ भन्छन्, ‘पूर्वाधार र संरचना निर्माण गरी हरहिसाबले रोल्पालाई पर्यटनको केन्द्र बनाउन सकिन्छ ।’

रोल्पा, रुकुम युद्ध पर्यटनको सम्भावना रहे पनि पछिल्लो समयमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)ले प्रभावित भएको छ । कोभिडले देशको पर्यटन क्षेत्र ध्वस्त भएको बेला युद्ध पर्यटन शिथिल हुन पुगेको स्थानीय तहका पदाधिकारी बताउँछन् । सशस्त्र युद्धमा रोल्पाबाट एक हजारभन्दा बढीले ज्यान गुमाएको तथ्य सार्वजनिक भएको थियो । स्थानीय शान्ति समिति रोल्पाको अभिलेखअनुसार सशस्त्र द्वन्द्वकालमा ९ सय ५९ जनाले ज्यान गुमाएको र ३३ जना बेपत्ता भएको तथ्य सार्वजनिक भएको थियो ।
युद्धको बेला थबाङमा मात्रै ३३ जना सहिद भए । करिब १९ घर तत्कालीन शाही नेपाली सेनाले जलाइदिएको थियो । तर युद्धकालीन समयमा माओवादीको पहलमा शहीद मार्ग निर्माण भए पनि तत्कालीन समयमा गाविस भवन, परियोजना, प्रहरी चौकी, व्यक्तिगत भवन, पुल भत्काइएका थिए । युद्ध पर्यटन अभियन्ता तत्कालीन जिल्ला विकास समिति रुकुमका स्थानीय विकास अधिकारी भरत शर्मा युद्ध पर्यटनको विकास गर्न खोजिए पनि स्थानीय तह तथा अन्य सरकारले खासै चासो नदेखाएको बताउँछन् ।

सात वर्षअघि रोल्पा, रुकुमलाई समेटेर गुरिल्ला ट्रेकिङको अवधारणा अघि सारिए पनि द्रुतगतिमा अघि बढ्न सकेको छैन । गुरिल्ला ट्रेकिङमार्फत रोल्पा, रुकुममा युद्ध पर्यटन विकास गरी आर्थिक रूपान्तरण गर्ने उद्देश्यले युद्ध पर्यटनको अवधारणा अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?