स्वास्थ्यकर्मीलाई सलाम !

डा.नीराजन शर्मा पौडेल एकाबिहानै उठ्छन् । आफ्नो नित्यकर्मपछि उनी ८–८ः३० बजेतिर क्लिनिकमा पुग्छन् । त्यहाँ कुरिरहेका बिरामीको उपचारपछि उनी १० बजे सेती प्रादेशिक अस्पतालमा पुग्छन् ।

अस्पतालमा उनी नर्मल आईसीयूसहित मेडिसिन विभागमा भर्ना भएका बिरामीलाई राउन्ड गर्छन् । त्यसपछि उनको ओपीडी हुन्छ ।

ओपीडीमा आएका बिरामी हेर्ने कार्य अपराह्न १ बजेतिर सकिन्छ । त्यसपछि उनी दिउँसो १ घण्टा खाना खान निस्किन्छन् । त्यसपछिको समय उनको फेरि ओपीडीमा रिपोर्ट हेर्नेमा बित्छ ।

अपराह्न ४ बजेपछि उनी अस्पतालको कोरोना डेडिकेटेड अस्पताल जान्छन् । त्यहाँ रहेका ५५ भन्दा बढी बिरामीको राउन्ड लिन्छन् । त्यसपछि उनी फेरि सेतीको नर्मल आईसीयूमा रहेका बिरामी, मेडिसिन विभागका बिरामीको राउन्ड हुँदै अबेर राति घर पुग्छन् ।

डा. शर्मा मात्रै होइन, सेती प्रादेशिक अस्पतालका ४ वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर, डा. सन्तोष पाण्डे र डा. निशान भट्टराईको पनि त्यस्तै दिनचर्या छ ।

सेती अस्पतालमा यी ४ वरिष्ठ फिजिसियनले, नर्मल आईसीयू, ओपीडी, मेडिसिन विभाग, सर्पदंश विभाग र त्यसैमा कोभिडको वार्ड पनि हेर्ने गर्छन् ।

सीमा शर्मा सेती प्रादेशिक अस्पतालकी मेट्रोन हुन् । उनको मातहतमा सेतीमा २४ जना स्टाफ नर्स कार्यरत छन् । उनले १२ जना सेती प्रादेशिक अस्पतालको नर्मल वार्ड र १२ जना कोभिडका लागि खटनपटन गरेकी छन् । कोभिड डेडिकेटेट अस्तालको पनि उनी नर्सिङ विभाग प्रमुख हुन् ।

‘बिहानै ९ बजे ड्युटी शुरू हुन्छ, ३ बजे सकिन्छ । तर परेका बेला जति बेला पनि जानुपर्छ,’ उनले भनिन् । उनले बिहान ८ देखि दिउँसो २ बजेसम्म ४, २ देखि बेलुकी ८ बजेसम्म ४ र बेलुकी ८ देखि बिहान ८ बजेसम्म ४ जना गरी नर्सिङ स्टाफको खटनपटन गरेकी छन् ।

‘५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना भर्खर नेगेटिभ भएर ड्युटीमा आएका छन् । २ जना अझै आइसोलेसनमा छन् । १ सिफ्टमा ३ जना स्टाफ नर्सले ५५ जनाभन्दा बढी कोभिडका बिरामीलाई सेवा दिनुपरेको छ,’ उनले भनिन् । सेती प्रादेशिक अस्पतालको १५ शय्याको आईसीयू, ३ शय्याको भेन्टिलेटर, १० शय्याको हाई डिपेन्डेन्सी युनिट (मोनिटर सहितको अक्सिजनको व्यवस्था) र बाँकी अक्सिजन शय्याहरू ३ जनाले नर्सिङ स्टापले हेरिरहेका छन् ।

कोरोना डेडिकेटेड अस्पतालमा ४ मेडिकल अफिसर पनि छन् । डा. पवन जोशी, डा. अञ्जली, डा. अशोक र डा. कृष्ण बोगटीले कोभिडका बिरामीलाई सेवा दिइरहेका छन् ।

‘विशेषज्ञ डाक्टरहरू त कन्सल्टमा आउनुहुन्छ । चौबीसै घण्टा खटिने भनेको नर्सिङ स्टाफ हो । तर बिरामीको चाप यति छ कि धान्नै सकिरहेका छैनौं,’ मेट्रोन सीमा शर्माले भनिन् ।

शर्माले कहिलेकाहीँ सोच्दै नसोचेका बिरामीको मृत्युले दुःखी बनाउने गरेको बताइन् । ‘कञ्चनपुरका २८ वर्षका १ जना युवा भेन्टिलेटरमा थिए । उनको अक्सिजन लेबल पनि ९७–९८ पुगेको थियो । राम्रै थिए । निको हुने आशा थियो । तर एकाएक उनको स्वास्थ्यमा जटिलता आयो कि शनिवार दिउँसो १ बजे उनले प्राण त्यागे,’ उनले भनिन्, ‘हामीले उनको शव प्याक गरेर सेनाको टोलीलाई बुझायौं, युवाहरूको मृत्युले चिन्ता लागि रहन्छ ।’

उनले अस्पतालमा रहेको अक्सिजन प्लान्टमा पनि अक्सिजनको लेबल बेलाबेला घटिदिनाले समस्या आउने गरेको बताइन् । ‘अक्सिजन लेबल घटिरहेको हुन्छ, प्लान्टमै समस्या आयो भने हामीले झन् के गर्नु ? त्यतिबेला अझ चिन्ता थपिन्छ,’ उनले भनिन् ।

अस्पतालमा ५० शय्याको कोभिड डेडिकेटेड अस्पताल छ । पहिलो चरणको कोरोनाका बेला ५० शय्या निर्माण भएको अस्पतालमा ५५ शय्या कोचाकोच गरी राखिएका छन् । त्यसमा पनि ५५ भन्दा बढी बिरामी भर्ना भएका छन् । अक्सिजन आवश्यक भएका संक्रमित आएपछि अस्पतालले फर्काउन सक्दैन । १ शय्यामा २–३ जना राखेर पनि उपचार गर्न बाध्य हुनुपरेको उनले बताइन् ।

चिकित्सकलाई पहिलो चरणको कोरोनाका बेला क्वारेन्टाइनको व्यवस्था गरिएको थियो । तर यसपालि उनीहरू घरबाटै आएर सेवा दिइरहेका छन् । त्यसैले स्वास्थ्यकर्मीका परिवारका सदस्य पनि संक्रमणको खतरामा छन् । ‘यसपालि क्वारेन्टीनको पनि सरकारले व्यवस्था गरेको छैन । घरमै बस्ने अनी अस्पतालमा सेवा दिने गरिएको छ,’ डा. नीराजन शर्मा पौडेलले भने ।

उनले अहिले आएको फरक भेरियन्टको कोरोनाले युवाको बढी मृत्यु भइरहेको बताए । ‘उत्पादनशील युवाहरूको बढी मृत्यु भइरहेको कुरा चिन्ताको विषय हो,’ उनले भने । अस्पतालमा उपकरणको पनि अभाव छ । सुदूरपश्चिमका लागि रेफरल सेती प्रादेशिक अस्पतालमा १५ वटा आईसीयू र ३ वटा मात्रै भेन्टिलेटर छन् । तर डा. शर्माले भने, ‘उपकरण पनि उपचारको एक महत्त्वपूर्ण टुल्स त हो तर त्योभन्दा पनि दक्ष जनशक्ति हो ।’

उनले सेतीमा फिजिसियन चिकित्सक, एनेन्थेसियोलोविस्ट, मेडिकल अफिसर र नर्सिङ स्टाप जस्ता जनशक्ति अभाव भएको बताए । ‘४ जना फिसियनलाई दिनभरि कोभिड र नन कोभिड वार्डमा जानु परेको छ, यसले संक्रमण अझ बढ्ने सम्भावना हुन्छ, २ जना एनेस्थेसियोलोजिस्ट छन्, उनीहरूले नर्मल भेन्टिलेटर र कोभिड भेन्टिलेटरमा पनि जानुपर्छ, यसरी उपचार चुस्त हुँदैन,’ डाक्टर नीराजनले भने ।

उनले कोभिडका बिरामीले समयमै उपचारमा आइदिएको भए मृत्युदर घट्ने बताए । ‘कोरोनाका लक्षण देखिएपछि मानिसहरू परीक्षण नगराएर अरू–अरू उपचारतिर लाग्छन्, कोरोना पुष्टि भइसकेपछि पनि जब एकदमै अप्ठेरो हुन्छ अनि मात्रै अस्पताल आउँछन्। सेतीको मेरो अनुभवमा, जति पनि बिरामी आउँछन्, त्यसको अधिकांश आईसीयूमा राख्न लायक भएर आउँछन्, अनि आईसीयू उपलब्ध हँुदैन, यसले मृत्युवरण भइरहेको छ,’ डाक्टर नीराजनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =