राष्ट्रिय युवा संघ राेल्पाद्वारा त्रिवेणीका १ सय ७० अग्निपीडितलाई लत्ताकपडा सहयाेग

राेल्पा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले त्रिवेणीका एक सय ७० अग्निपीडितहरुलाई लत्ताकपडा वितरण गरेको छ ।

यहि वैशाख १३ गतेदेखि लागेको आगलागी ३ दिनपछि मात्रै नियन्त्रणमा आएको थियो। आगलागीले त्रिवेणी गाउँपालिका-२ का चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ तथा वडा नं ६ र ३ का केही भूभागसहित रुन्टिगढी गाउँपालिका- ९ को गुनामका गरी ३७ घर र ११ गोठ पुर्ण रुपमा जलेर नष्ट भएका थिए।त्रिवेणी-२ भाङ्गोबारीमा ३७ घरधुरीका एक सय ७० जनालाई सवा २ लाख बराबरको कपडा वितरण गरिएको राष्ट्रिय युवा संघ रोल्पाका अध्यक्ष प्रेम विकले जानकारी दिए ।


शनिबार पीडितहरुको स्थलगत अनुगमन गरेर उनीहरुको माग बमोजिम लगाउने कपडा वितरण गरिएको हो। एक सय जना स्वयंसेवक युवाहरु परिचालन गरि दुई दिनसम्म र आवश्यक परे थप अरु दिन पनि पीडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय भएको संयोजक विकले बताए।राहत वितरण कार्यक्रममा संयोजक विकसहित नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार वली, एमाले रोल्पाका अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले रोल्पाका सचिव निमप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु मीन बहादुर महरा, केशब बुढा, त्रिवेणी २ का वडाअध्यक्ष कबिराज बुढा, रुन्टिगढी ९ का अध्यक्ष नेप बहादुर थापा, युवा संघका जिल्ला तथा गाउँपालिकाका जिम्मेवार व्यक्तिहरुको सहभागिता रहेको थियो।


लत्ताकपडा बुझ्दै अग्निपीडितहरुले वर्षायाम सुरु हुन लागेकाले बस्नको लागि वैकल्पिक घर र अन्य सहयोग गरिदिन अनुरोध गरेका छन्।

नेकपा एमालेले वैशाख १४ गते अर्थात घटनाको पछिल्लो दिननै पिडीतहरुको घरमा पुगेर खाद्यान्न सामग्री र केही कपडा सहयोग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?