अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ताका लागि तयार रहन निर्देशन

काठमाडौं । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परे सेवामा फिर्ता हुन तयार रहन निर्देशन दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ ।

हाल नेपालमा बढिरहेको कोभिड–१९ संक्रमणलाई मध्यनजर राख्दै यसको नियन्त्रण तथा रोकथामको लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरूको पूर्वानुमान एवं कार्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरू गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जङ्गी अड्डामा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले मिति २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन निर्देशन जारी गरेको जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?