खुसीको खबर : आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं । देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा १७ हजार ३६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। सोही अवधिमा २२५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।

निषेधाज्ञा १५ दिन थपियो

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ। नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

“विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने गरी निर्णय गरेका छौँ,” पराजुलीले भने। अत्यावश्यक सामाग्री खरिद गर्नका लागि बिहान दिइएको समय भने एक घण्टा बढाइएर १० बजेसम्म कायम गरिएको छ।

त्यस्तै अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालयहरू बन्द गराउने निर्णय गरिएको उनले बताए। कार्यालयले जारी गरेको सूचनामा विवाह र व्रतबन्ध १० जनासम्म भेला भएर स्वास्थ्य सावधानीका साथ घर वा तोकिएको स्थानमा गर्न पाउने भनिएको छ। पछिल्ला निर्णयहरू बिहीवारदेखि कार्यान्वयनमा आउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?