कोभिड वार्डमा श्रीमती-छोराको उपचार हुँदै : कुरुवा बसेका मन्त्री सरसफाईमा व्यस्त

एजेन्सी । भारतको एक राज्यका मन्त्रीले कोभिड वार्डमा सरसफाइ गरिरहेको एक तस्वीर अहिले चर्चित बनिरहेको छ ।

भारतको उत्तरपूर्वी क्षेत्रमा रहेको मिजोरम राज्यका बिजुली मन्त्री आर.लालजिर्लियानाले शुक्रबार अस्पतालको कोभिड वार्डमा पोछा लगाएका थिए।

उनकी पत्नी र छोरालाई कोभिड–१९ संक्रमणपछि उपचारका लागि त्यस अस्पतालमा ल्याइएको थियो । श्रीमती र छोराका लागि अस्पतालमा कुरुवा बसेका मन्त्री लालजिर्लियानाले अस्पतालमा सरसफाइ गरेका हुन् ।

उनले अस्पताल व्यवस्थापन तथा कर्मचारीलाई शरम होस् भनेर आफूले त्यो काम नगरेको बताएका छन् । ‘मलाई यो काम गर्नु कुनै अनौठो छैन’ लालजिर्लियानाले भनेका छन्, ‘म घर लगायत अन्य ठाउँमा पनि यस्तो काम गरिरहेको हुन्छु जुन बेला आवश्यक हुन्छ।’

मन्त्री हुँदैमा भिआइपी बनेर हिड्नु पर्ने कुरा आफूलाई मान्य नहुने उनले बताएका छन्।

भारतको मिजोरम यस्तो राज्य हो, जहाँ ठालु पल्टने, भिआइपी संस्कार देखाउने प्रचलन छैन । मन्त्री तथा उच्चपदस्थ हरु पनि समान्य रुपमा सार्वजनिक गाडी, मोटरसाइकलमा हिड्ने गर्छन् । घर तथा अन्य ठाउँका जस्तोसुकै काम गर्न अप्ठेरो मान्दैनन्।

आफू मन्त्री भएपनि अरु व्यक्ति भन्दा ठूलो भएको महसुस कहिले नभएको लालजिर्लियानाले बताएका छन्।

अस्पतालमा श्रीमती र छोराको स्वास्थ्यकर्मीहरुले राम्रो हेरचाह र उपचार गरेको भन्दै उनले आभार व्यक्त गरेका छन् । उनीहरुको स्वास्थ्य अवस्थामा सुधार आएको उनले भनेका छन्।

मिजो नेशनल फ्रन्टका नेता रहेका ७१ वर्षीय लालजिर्लियानाले दिल्ली गएका बेला पनि मिजोरम हाउसको भुईँ सफा गरेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =