‘४०० को अक्सिजन दिन छाडेर तिमी मर, तिम्रो लास जलाउनेलाई १००० दिन्छु भन्छ, सरकार’

काठमाडौं । सरकारले पशुपतिमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको दाहसंस्कार गर्नेलाई दिनमा १ हजार भत्ता थप गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आर्यघाटमा कोभिड-१९ संक्रमणबाट मृत्यु भएकाको शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णय गरे । दोस्रो कार्यकालका लागि सपथ ग्रहणपछि मन्त्रालयमा पुगेर उनले उक्त निर्णयमा हस्ताक्षर गरे ।

सरकारको उक्त निर्णय समय सान्दर्भिक नभएको भन्दै सामाजिक सञ्जालमा टीका टिप्पणी सुरु भएका छन् ।

कोरोना महामारीमा सामाजिक कार्यमा सक्रिय रहेका नायक पल शाहले सरकारमाथि व्यङ्ग्य कस्तै एउटा मन छुने स्टाटस लेखे, ‘सरकारले ४०० रुपैयाँको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनका लागि १ हजार रुपैयाँ थप भत्ता दिनेछु ।’

कोरोना संक्रमणबाट मर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसमा पनि अक्सिजन नै नपाएर धेरै मानिसहरू मरिरहेका छन् । उपचार पाउनु त कताको कुरा हो, प्राथमिक उपचार मानिएको अक्सिजन नै नपाएर बिरामी आफ्नो प्राण त्याग्न बाध्य भएका हुन् ।

सरकारले बिरामीका लागि अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा सन्देश शर्मा विष्णुले लेखेका छन्, ‘अब धेरै लाश निकाल्ने अस्पताललाई पनि २४ करोडको स्किम राख । अस्पताल सञ्चालकलाई दोसल्ला ओढाई सम्मान कार्यक्रम राख । अनि लाश जलाउने चिताको रिबन काटेर उद्घाटन गर्न लगाऊ ओलीलाई ।’

अहिले प्रमुख समस्या भनेकै अक्सिजनको हो । अक्सिजन नपाएर बिरामीहरूलाई बचाउन सक्ने अवस्था नरहेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला अहिलेको अवस्थामा बिरामी अक्सिजन बिना बचाउन सम्भव नरहेको बताउँछन् ।

अहिले शतप्रतिशत बिरामीलाई अक्सिजनको आवश्यक रहेको उनको भनाइ छ । ‘अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सबैभन्दा पहिला अक्सिजन चाहिन्छ । अक्सिजनको व्यवस्था गर्न सकेको खण्डमा मात्र अन्य उपचार गर्न सकिन्छ’, डा. बाँस्तोलाले भने ।

अस्पताल, स्वास्थ्यकर्मी, बिरामी, बिरामीका आफन्त अक्सिजन अक्सिजन भनेर चिच्याउँदै गर्दा पर्यटन मन्त्रालयले भने गज्जबको निर्णय गरेछ । ४ सय रुपैयाँ पर्ने अक्सिजन दिन नसकेको सरकारले मान्छे मरेको खण्डमा उनीहरूको दाहसंस्कार गर्नेलाई भने दैनिक १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने रे !

गणेश शाही लाज जलाउनेभन्दा पनि बिरामी बचाउनेलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थुइक्क सरकार, बिरामी बचाउनेलाई १ हजार भत्ता दिनु त कता हो कता, लास जलाउनेलाई रे, भत्ता दुवैलाई हुनुपर्छ तर, त्योभन्दा विरामी बचाउनेलाई दोब्बर हुनुपर्छ ।’ फरक धारबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?