प्यूठानमा आगलागी १५ घरगोठ जलेर नष्ट

प्युठान । प्यूठानको ऐरावती गाउँपालिका- १ बेलबोटमा आज आगलागी हुँदा १५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँकाे अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु, रामबहादुर घर्ती, मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो । स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षती भएको हो । आगोलागीबाट आलेको एउटा पाडो समेत जलेर मरेको छ ।

आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय वडा सद्स्य जीत बहादुर सारुले जानकारी दिनुभयो । ‘आगोले सबै जलेर खरानी भयो, उहाले भन्नुभयो, शरिरमा एकसरो कपडा बाहेक पीडितको अरु केहि बचेन । आगोले आठ घर परिवारका ४० जना भन्दा बढी बिचल्लिमा परेको उहाँको भनाई छ ।

गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । अहिले घटनास्थलमा पुगेर प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यबस्थापन समितिबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?