उत्तर कोरियाले विश्वकप छनोटबाट नाम फिर्ता लियो, एसियन कप पनि गुमाउने

काठमाडौं । उत्तर कोरियाले फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियाली फुटबल महासंघ (एएफसी) जनाएको छ।

नाम फिर्ता लिएको विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन। विश्वकप छनोटको समूह ‘एच’ मा रहेको उत्तर कोरियाले कोभिड-१९ कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएको दक्षिण कोरियाली मिडियाले लेखेका छन्।

कोरोनाका कारण विश्वकप छनोटका खेल विगत एक वर्षदेखि हुन सकेको छैन।

एएफसीले कोरोनाका कारण अब एक समूहका खेल एक स्थानमा मात्र गर्दैछ।

समूह ‘एच’ मा उत्तर कोरियासँगै दक्षिण कोरिया, तुर्केमिनिस्तान, लेवनान र श्रीलंका छन्। यो समूहको खेल आगामी जुन ३ देखि १५ सम्म दक्षिण कोरियामा हुने तय छ।

छनोटको तीन खेल बाँकी रहेको अवस्थामा उत्तर कोरिया ८ अंक जोड्दै समूहको चौथो स्थानमा छ। तेस्रो स्थानको लेवनान र दोस्रो स्थानको दक्षिण कोरियाको पनि समान ८-८ अंक छ। शीर्ष स्थानको तुर्केमिनिस्तानको ९ अंक छ। पुछारको श्रीलंकाले भने अंक जोड्न सकेको छैन।

समूह विजेताले विश्वकप छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ। यस्तै आठ समूहका उत्कृष्ट चार उपविजेता पनि तेस्रो चरणमा पुग्नेछन्।

उत्तर कोरियाले नाम फिर्ता लिएपछि समूह ‘एच’ को अंङ्क तालिकाको अवस्थाबारे फिफाले निर्णय लिनेछ।

छनोटबाट नाम फिर्ता लिएसँगै उत्तर कोरियाले २०२३ को एसियन कप पनि गुमाउनेछ। किनभने यो छनोट एसियन कपको पनि छनोट प्रतियोगिता हो। २०२३ को एसियन कप चीनमा हुने तय छ।

यसअघि उत्तर कोरियाको ओलम्पिक कमिटीले गत महिना टोकियो ओलम्पिकमा भाग नलिने निर्णय गरेको थियो। कोरोनाबाट आफ्ना खेलाडी जोगाउन ओलम्पिकमा भाग नलिने ओलम्पिक कमिटीको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?