हाम्रो इम्युन सिस्टम बलियो छ, यस तहसम्म कोरोना सर्छ भन्ने मैले ठानेको थिइनँ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शरीरमा प्रतिरक्षा प्रणाली बलियो भएकाले कोरोनाभाइरसको संक्रमण यो तहमा बढ्ला भन्ने आफूले नठानेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरोकारवालाहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ। मैले ठानेको के थियो भनेदेखि हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो,’ उनले भने।

प्रधानमन्त्री ओलीले यसको अर्थ इम्युन सिस्टमको कुनै भूमिका नै नहुने भन्ने नभएको बताए।

‘जति मानिसहरू निको भएका छन् त्यसमा इम्युन सिस्टमको भूमिका हुन्छ,’ उनले भने।

गत वर्ष प्रधानमन्त्री ओलीले नेपालीको इम्युनिटी पावर बलियो भएकाले कोरोनाले खासै असर गर्न नसक्ने बताएका थिए।

प्रधानमन्त्रीले सार्वजनिक रूपमा त्यस्तो अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीको इम्युनिटी बलियो छ भनेर कसले भनेको भनेर संसदमा उनलाई प्रश्न सोधेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले भनेका थिए- मैले भनेको।

कोरोनाभाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेपछि प्रधानमन्त्री ओलीले त्यतिबेला आफूले गलत ठानेको बताएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?