गाउँका विद्यार्थीको पीडा : अनलाइनको आसै छैन, पशुचौपाय चराउँदै बित्छ दिन !

  • हेमन्त केसी

जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको दैनिक बिहान, बेलुकी बाख्रालाई चरिचरण क्षेत्रमा लिने र ल्याउँदैमा दिन बित्छ। उनी अहिले कक्षा १० मा पढ्ने विद्यार्थी हुन्।

सहर, बजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उनको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोवाइल चार्ज गर्नेसम्मको विद्युत छैन। गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक लक्ष्मीले केही गर्न सक्ने अवस्था नभएको बताइन्।

उनी भन्छिन्, ‘गाउँमा विद्युत, इन्टरनेट तथा टिभी केही पनि छैन, कसरी वैकल्पिक उपाय अपनाएर पढ्नु। बाख्रा चराउन जंगल गएर पढाइ चौपट भयो।‘

उनी जस्तै बारेकोट गाउँपालिका –५ पाखाका गणेशविक्रम शाहीको पीडा पनि कम छैन। दैनिक आमा, बाबासँग घरको काम गर्ने देखि पशुचौपायलाई घास जम्मा गर्नु नै उनको दैनिकी बनेको छ। उनको गाउँमा एक महिना अघिसम्म फोनको टावर थिएन, बल्ल नमस्तेको टावर निर्माणपछि साथीभाइ तथा शिक्षकसँग सम्पर्क गर्ने वातावरण सिर्जना भएको छ।

विद्युत नहुँदा भर्खरै किनेर ल्याएको मोवाइलसमेत चार्ज गर्न विद्यालयमा जानुपर्ने बाध्यता रहेको शाहीले बताए। सहर बजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको उनले जानकारी दिए।

सदरमुकाममा विद्युतको केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्राविधिको भरपुर मात्रामा सदुपयोग गरे पनि दुरदराजमा बस्ने विद्यार्थीहरु भने पशुचौपायको भरपर्दो आहार खुवाउने साथी भएको विद्यार्थीहरु बताउँछन्। गाउँमा घुम्दा कोरोनाको डर, कुनै काम नगरेर घरमा बस्न पनि समस्या छ, त्यसैले सकेको काम गर्नुपर्ने बाध्यता रहेको जुनिचाँदे गाउँपालिका –७ लुहादहका कमान खड्काले बताए।

सदरमुकाममा प्रहरी, प्रशासनको कडा निगरानी हुँदा घरबाहिर निस्कन गाह्रो हुँदा विद्यार्थीहरु घरमै बसेर पढिरहेका छन्। दुरदराजमा गाउँहरुमा प्रहरीको सहज पहुँच नहुँदा निषेधाज्ञाको पालना नहुने तर विद्यालय बन्द हुँदा घरायासी काममा विद्यार्थीहरु लाग्ने गरेका छन्।

यो समस्या जाजरकोट मात्र नभएर कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीहरुको साझा समस्या हो। एकातीर कोरोनाबाट जोगिनु अर्कोतिर पढाइलाई पूरा गर्नु विद्यार्थीहरुको लागि चुनौतीको विषयमा बन्दै गएको छ। सहर बजार र गाउँका विद्यार्थीहरुको पढाइसमेत फरक हुने गरेको छ।

सहरका विद्यार्थीहरुले विभिन्न माध्यमबाट दोहोरो शिक्षा लिइसक्ने समयसम्म गाउँका विद्यार्थीहरुले एकसरो समेत पढ्न पाउने अवस्थासमेत मुस्किल बन्दै गएको छ। अघिल्लो वर्षको कोरोनाका कारण बल्ल ,बल्ल विद्यालय सञ्चालन भएर आधा पढाइ हुनेबितिकै फेरि यो वर्षसमेत सोही घटना दोहोरिदा विद्यार्थीहरु मर्कामा परेको बताउँछन्।

जाजरकोटमा विद्यार्थीहरुको संख्या ८१ हजार २ सय ३८ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सूचना अधिकारी तिलक भट्टराईले जानकारी दिए। उनका अनुसार जाजरकोटमा ४१६ सामुदायिक विद्यालय र २६ संस्थागत विद्यालय रहेका छन्।

शिक्षा मन्त्रालयले गत जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्यवस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन्।

यो सबै संख्यामा रहेका विद्यार्थीहरुले सरकारद्धारा गरिएको प्रशारण शिक्षाको पदुपयोग गर्न सकेका छैनन्। सूचना अधिकारी भट्टराइका अनुसार अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि विभिन्न माध्यमबाट काम चालु रहेपनि सबै स्थानका विद्यार्थीसँग प्राविधिको पहुँच नभएकाले समस्या भएको बताए।

शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावालीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिकसत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ। कर्णालीका कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्लामा फागुनदेखि शैक्षिकसत्र शुरु हुँदै आएको छ। अन्य कर्णालीका अन्य जिल्लामा मात्र वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?