एमसीसीका लागि नेपालका हरिया रुख काट्दै ओली सरकार ! वनमन्त्री आलेको यस्तो निर्णय

काठमाडौं । अमेरिकी सहयोगको एमसीसी परियोजना संसदबाट पारित नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रसारण लाइनका लागि भन्दै हरिया रुख कटानको स्वीकृति अगाडि बढेको छ ।

सरकारले मन्त्रीस्तरीय निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गरेसँगै विद्युत् प्रसारण लाइन क्षेत्रका हरिया रुख कटान स्वीकृतिको प्रक्रिया अगाडि बढेको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आलेले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । ‘मन्त्रीस्तरको निर्णयबाट बैशाख १६ गते ईआईए स्वीकृत भएको छ,’ मन्त्री आलेले भने ।

वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति परियोजना कार्यस्थलमा रहेका बाधा हटाउने सन्दर्भमा महत्वपूर्ण रहेको एमसीए नेपालका कार्यकारी निर्देशक खड्कबहादुर विष्टले जानकारी दिए ।

‘प्रसारण लाइन निर्माणस्थल क्लीयरेन्सका निम्ति ईआईए स्वीकृति महत्वपूर्ण निर्णय हो,’ विष्टले भने । यी दुबै परियोजना निर्माणका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो ।

परियोजनाअन्तर्गत करीब ३१४ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन तथा ३ वटा ४०० केभी क्षमताका सब–स्टेसन निर्माण हुने जनाइएको छ ।

तर एमसीसी सम्झौतामा कतिपय विवादित बुँदा र शब्द रहेकाले त्यसलाई सच्याउनुपर्ने माग राजनीतिक स्तरमा उठेको छ । सम्झौता कार्यान्वयन हुनुअघि संसदबाट पारित हुनुपर्ने प्रावधान भएपनि सरकारले संसदबाट पारित नहुँदै कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । मिडिया डबलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?