मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । मोरङको पथरीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पथरीशनिश्चरे नगरपालिका-२ जय चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।

घटनामा परेका तीन जना गम्भीर घाइते छन्। दुर्घटनामा मोरङको रंगेली नगरपालिका-३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लीलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई ठक्कर दिँदा दुर्घटना भएकाे हो।

ट्रकको ठक्करबाट स्कर्पियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए। दुर्घटनामा परी झापा बिर्तामोड नगरपालिका-२ चार पानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीया विनिता पौडेल र हल्दीबारी गाउँपालिका-५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएकाे प्रहरीले जनाएको छ।

राईका अनुसार घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनीहरू बिरामी भेट्नका लागि विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?