पूर्वमन्त्री जम्कट्टेलको व्यङ्ग्य : मुख्यमन्त्रीले मेरो त नामै हटाइदिए कि क्या हो !

  • श्रीजना नेपाल

हेटौंडा । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उप-निर्वाचन क्रममा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमाथि व्यंग्य कसेका छन्‌।

मतदान कक्षतर्फ प्रवेश गर्दा मतदाता नामावली हेर्ने क्रममा आफ्नो नाम नभेटेपछि जम्कट्टेलले प्रदेशका मुख्यमन्त्रीलाई व्यङ्ग्य गरेका थिए। उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा आफू प्रस्तावक रहेको हुदा नाम हटाएको हुन सक्ने भन्दै व्यङ्ग्य गरेका हुन्।

यद्यपी; मुख्यमन्त्री पौडेल भने त्यँहा थिएनन्। ‘प्रस्तावक नै आफू थिए, नाम हटाइदिएको पो हो कि!’ उनले भने, ‘त्यहाँ रहेका निर्वाचन कार्यालयका कर्मचारीले नाम कहाँ हटाउन मिल्छ ?’

‘नाम निर्वाचन आयोगबाटै आउँछ’ भनेपछि बागमती प्रदेशसभा सदस्यसमेत रहेका पूर्वमन्त्री जम्कट्टेलले भने, ‘निर्वाचन आयोग पनि कहाँबाट चल्छ थाहा छ हामीलाई!’

उनले त्यति भनेपछि वरपर रहेका केहि मानिसबीच हाँसो छुटेको थियो। केहि बेरपछि उनको नाम भेटियो र उनी मतदान गर्न भित्र प्रवेश गरेका थिए।

नेकपा एमाले र माओवादी मिलेर प्रदेश सरकार बनेको बेलामा मन्त्री बनेका उनले पछि पार्टीभित्र विवाद हुँदा राजीनामा दिएका थिए। जम्कट्टेल प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा प्रस्तावक रहेका थिए।

मतदान गर्न आउने मतदाताको स्वास्थ्य परीक्षणको लागि मतदान स्थल प्रवेश गर्ने गेट अगाडि हेल्थ डेस्क राखिएको छ। सो डेस्कमा ७२ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट देखाउने, तापक्रम मापन गर्ने, स्यानिटाइज गर्ने र मतदाता नामावली अनुसार भित्र प्रवेश गर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?